‘प्रश्न’हरूबाट टाढा-टाढा भागिरहेका रवि

‘प्रश्न’हरूबाट टाढा-टाढा भागिरहेका रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोस्रोपटक गृह मन्त्रालयमा १०० दिन बिताएका छन्। पहिलोपटक त उनले एक महिनामात्रै काम गर्न पाए।

दोहोरो नागरिकता प्रकरणमा उनले त्यो बेला संसद र गृहमन्त्री तथा उपप्रधानमन्त्रीको पदबाट ३२ दिनमै राजीनामा दिनुपरेको थियो। त्यसपछि नागरिकता सच्याएपछि उनी फेरि ‘उपचुनाव’ लडे र जितेर फेरि उही पद अनि उही मन्त्रालयमै फर्किए।

सत्ता समीकरण फेरिएसँगै उनले गृह मन्त्रालय सम्हालेको शुक्रबार १०० दिन पुगेको छ। यो बिचमा उनले गरेका कामहरूको सूची सार्वजनिक गर्न गृहमन्त्री लामिछानेले मन्त्रालयमै पत्रकारहरू बोलाएका थिए।

मन्त्रालयको सभाहलमा खचाखच पत्रकारहरूले उनलाई लगभग दुई घण्टाजति कुरे। वरिपरि प्रहरीका उच्चअधिकारी र गृहसचिवहरूलाई राखेर उनले सरसर्ती १०० दिने बखान पढेर सुनाए।

यो सय दिनमा गृह मन्त्रालय गरेको कार्यसम्पादनहरूलाई रविले विभिन्न ७ क्षेत्रमा छुट्याएका छन्। र, तिनलाई बुँदागत रुपमा व्याख्या गरेका छन्। मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने यी कामहरूलाई ७८ बुँदामा समेटेका छन्, जुन काम उनले यो सय दिनमा गरे।

उनले पढेको सय दिने प्रगति विवरणमा नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रका २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रका १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनका ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रका ८ बुँदा, राजश्व चुहावट नियन्त्रण क्षेत्रका ३ बुँदा, सूचना प्रविधिको प्रयोगमा ५ बुँदा, अरु १९ वटा विविध बुँदाहरूमा ब्याख्या गरेका छन्। तर यी सब मन्त्रालय प्रशासनले गर्ने नियमित र हुँदै आएका काम सम्पादन हुन्।

गत फागुन २३ गते उनले दोस्रोपटक गृहमन्त्रालयमा पदभार सम्हालेका थिए। तर, यो कार्यकाल पनि उनको विवादमुक्त भने हुन सकेन। गृहमन्त्री नहुँदै पनि विवादै विवादले घेरिएका उनलाई यसपालि आर्थिक हिनामिना अर्थात् सहरकारीको रकम अपचलनको आरोप लाग्यो। राजनीतिमा आउनुअघि उनका सञ्चारगृह साझेदार जिबी राईसँगै उनलाई पनि सहरकारी लाखौं रकम अपचलन गरेको आरोप लागेको छ। रवि आफूले पटक-पटक त्यसलाई अस्वीकार गर्दै आएका छन् र प्रमाणित गरेर देखाउन चुनौती दिइरहेका छन्। तर, उनका साझेदार जिवी राई भने फरार छ। उनलाई खोजी ल्याउनका लागि प्रहरीले इन्टरपोललाई समेत गुहारेको छ।

यही आरोपका बिचमा सत्ता समीकरण फेरबदल भयो। महासमिति बैठकबाट ‘एक्लै चुनाव लड्ने’ नीति पारित गरेपछि नेपाली काँग्रेस सरकारबाट बाहिरियो। अनि एमाले फेरि सत्ता साझेदार बन्यो। रवि पनि लामो रस्साकस्सीपछि गृह मन्त्रालय लिएर फेरि सरकार छिरे।

गृह मन्त्रालयमा दोस्रो सफरका सय दिन पुग्नुअघि रवि जुन प्रश्नहरूबाट घेरिएका थिए यी सय दिनमा पनि उनले यिनै प्रश्नहरूको चक्कर काटिरहे। तर, कहिल्यै विश्वास लाग्ने र प्रमाणित हुनेखालका जवाफहरू दिन सकेनन्। सयमा दिनमा पनि उनले पत्रकारहरूले सोधेका धेरै प्रश्नको जवाफै फर्काएनन्। हतार हतारमा सभाहल आए अनि उत्तिकै चटारोमा प्रश्नहरू सुनेको नसुन्यैगरी हुत्तिएर निस्किए।

प्रतिपक्षको बेन्चमा पुगेलगत्तै नेपाली काँग्रेसले रविमाथि संसदीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्‍यो। सत्ता साझेदार एमालेको निर्देशनमा केही बैठकहरू सभामुखले जबर्जस्ती चलाए। रविले संसदमा बोल्न पाउँ भन्दै निवेदन चढाइरहे तर काँग्रेसले संसद घेरेको घेर्‍यै गर्‍यो। त्यहाँ पनि नसकेपछि उसले रविलाई बोल्न दियो। रवि रोष्ट्रममा कुर्लिए तर आफ्ना आरोपहरूको बचाउमात्रै गरे। काँग्रेसलाई गाली गरे। उल्टै तथानाम आरोपहरू लगाए।

नेपाली काँग्रेस सडकमै उत्रियो। जेठ १५ गते सरकारले बजेट ल्याउनुअघिसम्म विवाद उस्तै थियो। बजेट ल्याउने पूर्वसन्ध्यामा सत्तापक्ष दलहरू संसदीय छानबिन समिति बनाउन सहमत भए अनि नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा समिति पनि बन्यो। त्यो बेलासम्म गृहमन्त्रीको नामै तोकेर छानबिन समिति बनाउनुपर्छ भनेको नेपाली काँग्रेस उनी मुछिएका सहरकारीको नाममात्रै राखेर समितिलाई कार्यादेश तोक्न तयार भयो। यो विवाद यत्तिकै रह्यो। तर, जवाफ आएन। रवि आफैँले नदिएको जवाफ कुर्न अझै समितिले पाएको छ महिना त कुर्नु नै पर्नेछ।

यही बिचमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीले रवि फेरि आलोचनाहरूबाट घेरिए। खासमा सिरोहियामाथि नागरिता कीर्तेको आरोप थियो। तर, सिरोहियाको पत्रिका कान्तिपुरले निरन्तर रवि मुछिएका सहकारीका मुद्दाहरूलाई श्रृङ्खलावद्ध समाचारहरू प्रकाशित गर्दै आएको थियो। त्यसअघि पहिलोचोटी रविले राजीनामा दिँदा पनि कान्तिपुरलगायत धेरै मिडिया र पत्रकारहरूलाई उनले गाली गरेका थिए। यी परिवेशकैबीच कैलाश सिरोहियाको गिरफ्तारीलाई रविको नियतसँग जोडेर आलोचना भयो। अन्तर्राष्ट्रिय रुपमै यो गिरफ्तारीको आलोचना र विरोध भयो।

उसै पनि प्रश्न अनि विवादहरूको नियतिहरूले पछ्याइरहेका रवि आफैँले भनेका थिए ‘मेरो त भाग्य नै यस्तै छ…’ रवि त्यही पार्टीका सभापति हुने जसका उम्मेदवारहरूको चुनावी नारा नै थियो ‘प्रश्न गर्न पाइन्छ…।’ संसद प्रवेशका बेला पनि उनीहरू भन्थे ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रश्न सोध्न यो संदस छिर्दैछन्।’

पत्रकारिता अनि उनको आफ्नै निजी जीवनमा घेरिएका विवाद र चर्चाहरूले उनलाई राजनीतिमा पनि छोडेका छैनन्। एकपछि अर्को ‘मुद्दा’हरूमा जोडिएर आउने रवि लामिछाने दोस्रोपल्ट गृहमन्त्रालय छिर्दै गर्दा पनि आफैँमाथिको अर्को एउटा मुद्दा बोकेर छिरेका थिए- सहकारी ठगठाग। यी सवालका जवाफबाट रवि भने निरन्तर टाढा टाढा भागिरहेका छन्।

सय दिने फेहरिस्त सुनाइसकेपछि पनि शुक्रबार पत्रकारहरूले उनलाई एकपछि अर्को प्रश्न गरिरहे। तर, उनले त्यसको जवाफ फर्काउँदै फर्काएनन्। केही राजनीतिक सवालजवाफ भने उनले मज्जैले गरे। तर, उनको नाम मुछिएका धेरै प्रश्नहरूबाट तर्किएर हिँडे।

राजनीतिक प्रश्नहरूलाई समेट्दै उनले आफू सरकारमा भएपनि ‘सत्ता’ भने अरुले चलाएको दाबी गरे। सरकार फेरिँदा पनि सत्ता नफेरिएको भन्दै उनले राम्रो काम गर्दा पनि आलोचना खेप्नुपरेको पीर पोखे।

‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ। सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। सरकार फेरिँदा पनि सत्ता फेरिँदैन। नेपालमा सरकारमा त हामी छौँ। सत्तामा त के–के छ, के–के छ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ’ उनले भनेका छन्।

उनले बेथितिका कयौँ फाइलहरु खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागेको भए पनि त्यस्तो नभएको बताए।

‘नेपाली जनताको कसम खाएर सपथ लिएर बसेको सय दिनमा मैले देशलाई नराम्रो हुने केही पनि काम गरेको छैन। यहाँका जनतालाई नराम्रो हुने काम केही गरेको छैन’ उनले भने।

त्यसपछि उनले ‘आगामी दिनमा निर्मम भन्दा पनि निर्मम प्रश्नहरू गर्नुहोला…’ भन्दै पत्रकार सम्मेलन सकिएको संकेत गरे। पत्रकारहरूका प्रश्न त सकिएकै थिएनन् तर उनी फटाफट निस्किए। पत्रकारहरूले एकपछि अर्को प्रश्न ओइराइरहँदा सुरक्षाकर्मीहरूबाट घेरिएर उनी टाढा पुगिसकेका थिए।

दोस्रोपटक गृह मन्त्रालय सम्हाल्दाका एक सय दिनमा ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि भएको दाबी गर्दै निजी सचिवालयमार्फत विवरण सार्वजनिक गरेका हुन्।