पैसाको चलखेल र फोहरी राजनीतिको अन्त्य हाम्रो एजेण्डा : महासचिव डा. शर्मा

काठमाडौं । जनवरी अन्तिम साता हुने गैरआवासीय नेपाली संघको विशेष अधिवेशन संघको निर्वाचन पैसाको चलखेल र फोहरी राजनीतिको अन्त्यका लागि कोसेढुंगा सावित हुने महासचिव डा. हेमराज शर्मा बताएका छन् ।
गैरआवासीय नेपाली संघको अमेरिका क्षेत्रले हिजो शनिवार आयोजना गरेको ‘नयाँ वर्ष शुभकामना आदान–प्रदान तथा विशेष अधिवेशन’ विषयक अन्तरक्रिया कार्यक्रम डा. शर्माले उक्त कुरा ब्यक्त गरेका हुन् ।
सदस्यता वितरणमा भएको आर्थिक चलखेलले राष्ट्रिय समितिको निर्वाचनमा सिन्डिकेट रहेको बताउँदै डा.शर्माले विशेष अधिवेशनमा प्रस्तुत एजेन्डाले सिन्डिेकट तोड्न सफलता मिल्ने दावी गरे।
संघको निर्वाचनमा विकृतिको मुख्य स्रोत पैसा र राजनीति भएको डा शर्माको ठहर थियो । डा. शर्माका अनुसार,संघको मुख्य उद्देश्य निर्वाचनमा त्यस्तो विकृर्ति रोक्ने रहेकाले विधान संशोधन गर्न लागिएको हो ।
चुनावी प्रकृयालाई व्यवस्थित गर्न संघले प्रस्ताव गरेको विधानमा संशोधन गरिएको उनले बताए । महासचिव डा.शर्माले भने, ‘संघले अघि सारेको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) लाई कसैले पनि प्रभावित गर्न सक्दैन ।’
विश्वभर छरिएका ८३ देशमा रहेका राष्ट्रिय समितिलाई हेरेर नीति बनाउनु पर्ने बाध्यता रहेको उनको भनाइ थियो । डा.शर्माले भने, ‘अहिलेदेखि नै राष्ट्रिय समितिमा अनलाइन मतदान सुरु गरे भविष्यमा त्यसलाई अझै व्यवस्थित गरेर लैजान सकिन्छ ।’
‘विधान संशोधनमा देखिएका फरक भावनालाई समेत समेटेर लैजान थप छलफल गरे जान सकिन्छ,’ डा. शर्माले भने, ‘अहिले प्रस्ताव गरिएको विधानले संस्थाभित्र व्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । परिवर्तनको अजेन्डाबाट पछि नहटौं ।’
डा शर्माका अनुसार,संघको विशेष महाधिवेशन विधानअनुरुप नेपाल सरकारको समन्वय, वैधानिक निकाय र कानुनविद्को सल्लाहबाट बोलाइएको हो ।
संघका सचिव गौरीराज जोशीले संघले अघि सारेको एमआईएस रकेट साइन्स नभएको तर्क गर्दै प्रविधिमा कमिकमजोरी भए सुधार गरेर अघि बढ्न सकिने बताए । उनले स्मार्ट एनआरएनए अन्तर्गत १३ वटा फिचर रहेको बताउँदै सदस्यता वितरण र चुनावी प्रकृयाबाहेकका कुरामा पनि ध्यान दिन आग्रह गरे । जोशीको भनाई थियो्,‘राष्ट्रिय समिति संघका लागि जग भएको र त्यसलाई आइसीसीले छानाको रुपमा संरक्षण गरेको छ ।’
संघका अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा अमेरिकास्थित संघका क्षेत्रीय समिति, कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्ष डा. केशव पौडेल,खगेन्द्र जिसी, संघका सल्लाहकार हरिबोल भण्डारी लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
ताजा अपडेट
