अमेरिकाका लागि नवनियुक्त राजदूत डा. खतिवडाका चुनौति

अमेरिकाका लागि नवनियुक्त राजदूत डा. खतिवडाका चुनौति

भर्जिनिया । अमेरिकाका लागि १८ औं नेपाली राजदूतको रुपमा कार्यभार सम्हाल्न डा. युवराज खतिवडा सपरिवार शनिबार अमेरिका आइपुगेका छन्।

विविध कारणले ६ वर्षे लामो कार्यकाल सम्पन्न गरेर निवर्तमान राजदूत डा. अर्जुन कुमार कार्की यसै हप्ता स्वदेश फर्किसकेका छन्। डा. कार्कीको कार्यकालमा मिश्रित उपलब्धि भएको मान्ने विज्ञहरुले नव आगन्तुक राजदूत डा. खतिवडाको कार्यकालप्रति भने अझै बढी उपलब्धिको अपेक्षा राखेका छन्।

अमेरिकाका लागि नेपाली राजदूतले नेपाल र अमेरिकाबीचको कूटनीतिलाई बढावा दिएर मात्रै हुने अवस्था छैन् । डिसी वरिपरी र अमेरिकाका विभिन्न स्टेटमा धेरै नेपालीको बसोबास रहेकोले नेपाली समुदायले पनि राजदूतलाई आफ्नो रानोको रुपमा हेर्दछन् । र, राजदूत कुनै आग्रह विना प्राथमिकताको साथ नेपाली गतिविधिमा पनि हरदम सामेल हुन, सवै नेपालीसँग अनौपचारिक रुपमै घुलमिल हुन भन्ने अभिलाशा पनि समुदायले राख्ने गर्दछ । यो अभिलाशालाई आशातीत रुपमा वा न्यायोचित रुपमा चरितार्थ गर्न नसक्दा पनि नेपाली राजदूतले मूल्यांकनको कसीमा यदाकदा बढी, ठीक्क वा कम नम्बर पाउने गरेको पनि पाइन्छ ।

सिक्काका दुई पाटा भने झैं अमेरिका बस्ने नेपाली, एनआरएनलगायतका संघसंस्था र विशेषत : यहाँका बुद्धिजीविले पनि निष्कपट र खुलस्त रुपमा शुरुबाटै नयाँ राजदूतसँगको सहकार्य बढाउँदै नलैजाने हो भने पछि  दूतावासको सहभागिता, सहकार्य र यथेष्ट सहयोग भएन भनेर स्वर ध्वनि निकाल्नुको कुनै औचित्य हुनेछैन्।

आफ्ना जीवनका ६४ वर्ष पार गर्दै गर्दा डा. खतिवडाको रोजाइमा परेको यो कूटनीतिक सांचोमा कुनै कतै खिया नलागी सहज रुपमा लागाउन र खोल्न उनी सफल हुने कुरामा विश्वास लिंदै आफ्नो बुद्धीमत्ताले अगाडि आइलाग्ने चट्टानमा पनि सुरुंग छेड्दै पल्लोपट्टि सजिलै प्रकट हुन सक्नुहोस, डा. खतिवडालाई हार्दिक शुभकामना

को हुन डा. खतिवडा ?

डा. युवराज खतिवडा एक नेपाली राजनीतिज्ञ र अर्थशास्त्री पनि हुन। उनले सेप्टेम्बर २०२० सम्म नेपाल सरकारको अर्थ मन्त्री र सूचना तथा सञ्चार मन्त्री थिए। राष्ट्रिय सभामा आफ्नो पदावधि समाप्त भएको कारण केपी ओली प्रधानमन्त्रीको प्रभावशाली मन्त्री हुँदाहुँदै पनि उनी बाहिर निस्कन बाध्य भए ।

त्यसपछि उनलाई अक्टोबर २०२० मा केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको हो।

डा. खतिवडाले अमेरिका र यसका टेरिटोरीहरु, र दक्षिण अमेरिकी देशहरु पनामा, कोस्टा रिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा काम गर्नेछन् ।

यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनी विश्व बैंक, आईएमएफ र विश्व बैंक समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिला पनि हेर्ने उच्च कूटनीतिक अधिकारी पनि बनेका छन् ।

संघीय मन्त्रिपरिषदको अर्थमन्त्रीबाट बाहिर भएपछि उनलाई मन्त्रीस्तरीय अधिकारका साथ प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारका रुपमा पनि मनोनित गरिएको थियो।

अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । उनले त्यसपछि देशको योजना आयोग जस्तो महत्वपूर्ण निकायको उपाध्यक्षको रुपमा कार्यभार सम्हालेका थिए ।

अर्थबेत्ताको रुपमा मानिएका डा. खतिवडाका दुई पुस्तकहरु निकै चर्चित रहेका छन् । सम आस्पेक्ट अफ मनिटरी पोलिसी इन नेपाल ९१९९४० र स्ट्रक्चरल अडजस्टमेन्ट पोलिसिज एण्ड पोभर्टी इराडिकेसन ९२००३० नेपालको अर्थ नीतिमा महत्व राख्ने उनका पुस्तक हुन।

अर्थमन्त्री हुँदा वा त्यस पहिलेका विविध गहकिला जिम्मेवारीको क्रममा नेपाल सरकारलाई प्रतिनिधित्व गरेर पानीपधेंरो झैं अमेरिका र पश्चिमा संसारमा आउने जाने र विश्व अर्थनीति सम्बन्धी उच्च निकायसँग नजिकबाट काम गरेका खतिवडालाई राजदूतको भूमिका निर्वाह गर्न त्यति गाह्रो भने देखिंदैन ।

नयाँ विद्यार्थीको रुपमा नभै पाको प्रोफेसरको रुपमा भएको उनको कूटनीतिक प्रवेशले धेरै सफलता हात पार्न सक्ने हुँदाहुँदै पनि कतिपय चुनौति पनि सामुन्नेमा खडा नभएका हैनन्।

नेपाली अस्थीर राजनीति, मिलेनियम कर्पोरेसनको नेपाल प्रोजेक्ट कार्यान्वयन, कोभिड–१९ रिलिज प्याकेज, गैरआवसीय नेपालीका जल्दाबल्दा समस्या लगायत नेपाली राजदूतावासको प्रतिष्ठालाई उचाइमा पुर्याउने कार्य भने राजदूत खतिवडालाई तत्कालका लागि चुनौति र अवसरका रुपमा रहेका छन् ।

उनले सकेसम्म आउने हप्तानै अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नेछन् । डा. खतिवडाले अमेरिकी सरकारबाट कोभिड-१९ का खोप अनुदानमा नेपाललाई पनि उपलब्ध गराउन ठोस प्रयास गर्ने अनुमान गरिएको छ।

(लुँइटेल नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाका केन्द्रीय अध्यक्ष हुन् ।)



No ads found for this position