अबको पाँच वर्षमा कम्पनी ५० अर्बको हुनेछ: पूर्व अध्यक्ष लामिछाने

अबको पाँच वर्षमा कम्पनी ५० अर्बको हुनेछ: पूर्व अध्यक्ष लामिछाने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ।

यो कोषमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीलाई लगानीका लागि आइपिओ जारी गरिनेछ। १० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको संघले जनाएको छ । थप संस्थापकको १० प्रतिशतले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । बाँकी रकम विदेशमा आइपिओ जारी गरेर संकलन गर्ने तयारी छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने संघले जनाएको छ।

स्थापनाको अन्तिम चरणमा रहेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर समेत भएको छ । बिहीवार काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन्।

बिहिवारको उक्त कार्यक्रममा मन्तब्य राख्दै संघका पूर्व अध्यक्ष जीवा लामिछानेले हरेक वर्ष राइट सेयर जारी गर्दै पाँच वर्षमा यसलाई ५० अर्बको कम्पनी बनाउन सकिने बताएका छन्।

मन्तब्यको सम्पादित अंश :

गैरआवासीय नेपाली संघको स्थापनाको मुख्य लक्ष्य विश्वभरी छरिएर रहेको नेपालीको ठूलो स्रोतलाई एकीकृत गरेर नेपालको विकासमा लगाउनु थियो । त्यसलाई नेपालको परोपकार र लगानीका लागि विश्वब्यापी सञ्जाल बनाएर एकिकृत गर्ने हाम्रो मुख्य योजना थियो । यसका लागि सुरुका दिनदेखि नै विश्वब्यापी सञ्जाल बनाउने अभियानमा लाग्यौं । त्यसपछि आर्थिक र सामाजिक लगानी गर्ने वातावरण बन्दै गयो । यसको एउटा पाटो लगभग पूरा भइसकेको थियो।

यसलाई हाम्रो उदेश्यसँग संयोजन गराउनुपर्छ भन्ने सोचले २०११ देखि ०१३ मा जब म गैरआवासीय नेपाली संघको नेतृत्वमा थिएँ, त्यतिबेला एउटा ‘टेस्ट प्रोजेक्ट’ को रुपमा गैर आवासीय नेपालीले नेपालमा व्यक्तिगत रुपमा सानो–सानो समूह बनाएर केही परियोजनाहरुमा लगानी गयौं । सामाजिक कार्यहरु पनि गर्यौ । तर ठूलो समुह मिलेर ठूलो योजना नेपालमा सञ्चालन गर्न सकिन्छ कि सकिदैन भनेर २०११ मा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी शुरु गर्याै।

त्यो समय जम्मा १ सय १३ करोडको पूजीँ थियो । यो धेरै ठूलो पूँजी त हैन । यसको मुख्य चाहना सामूहिक रुपमा काम गर्न सकिन्छ कि सकिदैन भनेर यो प्रयास गरिएको थियो । म लगायत केही साथीहरु मिलेर मार्गचित्र बनाएर त्यसलाई प्रवासमा रहेका नेपालीमाझ लग्यौं । ६/७ महिनाको समयमा ७ सय ९५ जना व्यक्तिगत रुपमा र ७ वटा कम्पनीले यसमा लगानी गर्यो। यसले नेपालमा विद्युत उत्पादनलाई प्राथमिकतामा राख्यो।

जतिबेला यो अभियान सुरु भएको थियो त्यतिबेला हामीकहाँ दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गर्दथ्यो । हाइड्रोपावर यस्तो क्षेत्र हो जसमा प्रतिफल त सुनिश्चित छ नै देश र समाजका लागि योगदान पनि । मुलुकलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने एउटा अवसर पनि भएकोले हामीले लगानीलाई यसैतर्फ केन्द्रित गर्यौ।

यो कम्पनि बनाउनुको हाम्रो उदेश्य के थियो भने धेरै लगानीकर्ता भएको यो कम्पनीलाई पब्लिक लिष्टिङ गराउनु थियो । नेपालमा त्यस अनुरुपका कम्पनीहरु २५ हजारको संख्यामा रहेको छ । नेपालको कम्पनिको इतिहासमा इन्भेष्टमेन्ट कम्पनी गत वर्षको जुलाइमा हामी पब्लिक लिष्टिङमा प्रवेश गर्न पायौं । नेपालमा यो पहिलो इन्भेष्टमेन्ट कम्पनि हो।

अहिले हाम्रो कम्पनीमा २ लाख २५ हजार पब्लिक शेयर होल्डर रहेका छन् । शेयर बजारमा हेर्ने हो भने कुनै बेला ७/८ सयसम्म पुगेको हाम्रो शेयर मुल्य विगत केहि महिनादेखि ३/४ सयमा कारोबार भइरहेको छ । यो भनेको लगानीकर्ताले तपाई हामीलाई गरेको विश्वास हो । कम्पनीले आजको दिनसम्म धेरै प्रतिफल दिएको छैन । तर, हामीले राम्रो ठाउँमा लगानी गरेका छौँ। यसले आम मानिसको विश्वास जितेको छ।

३ वर्षअघि संघका तत्कालिन अध्यक्ष भवन भट्टको अध्यक्षतामा एउटा प्रोजेक्ट टेष्ट सफल भएको थियो । ठूलो पूँजी, सय मिलियन डलरको प्रोजेक्टको रुपमा २००५ मा कल्पना गरिएको थियो । त्यसलाई अब कार्यान्वयन गर्ने बेला भयो भनेर परिकल्पना गरिएको थियो । आज त्यो प्रोजेक्टलाई दर्ता गर्ने प्रक्रिया सुरु भएको छ । यसका लागि आज हस्ताक्षर पनि गरेका छौं। यो कम्पनी स्थापनाकालमै १० अर्ब लगानीका साथ आउनेछ । सम्भवत नेपालमा यति धेरै पूँजी भएको बैक तथा विमा कम्पनीहरु मात्रै छन् । दर्तापछि इन्भेष्टर कम्पनीको रुपमा भने यहि हाम्रो कम्पनी हुनेछ । कम्पनीले राम्रोसँग लगानी गर्दै गएपछि ब्यावसायिक दक्षता भएकाहरुले यसलाई संयोजन गर्ने हो । हरेक वर्ष हामीले राइट सेयर जारी गर्दै पाँच वर्षमा यसलाई ५० अर्बको कम्पनी बनाउन सक्छौं।

अबको हाम्रो बाटो यही हो । हामीले अहिले देखेको सपना पनि यही हो।



No ads found for this position