बेलायतमा नेपाली समाज ठग्ने व्यक्तिलाई जमानत

बेलायतमा नेपाली समाज ठग्ने व्यक्तिलाई जमानत

लण्डन। बेलायतमा नेपाली समुदायलाई लक्षित गर्दै ठगीको आरोपमा समातिएका एन्थोनी कन्स्टेनटिन्योले जमानत पाएका छन्।

लन्डनको एउटा फर्मका मालिक रहेका एन्थोनीलाई ५ करोड स्टर्लिङ पाउण्डको घोटालामा सन् २०१५ मा आरोपित बनाइएको थियो।

३९ वर्षीय एन्थोनी ‘फेसन टाइकुन’ एरिस्टोस कन्स्टेनटिन्योका छोरा हुन्। उनी क्यापिटर वर्ल्ड मार्केट चलाएर बसेका थिए, जसले बेलायतको चर्चित फुटबल क्लब चेल्सीको प्रायोजक खोज्ने समेतको जिम्मा पाएको थियो।

स्थानीय प्रहरीका अनुसार क्यापिटल मार्केटले प्रतिमहिना पाँच प्रतिशत मुनाफा दिने भन्दै झन्डै ५ करोड पाउण्ड संकलन गरेको थियो। सन् २०१६ मा प्रहरीले झण्डै ४ सय ५० नेपालीबाट उनले करिब २० लाख पाउण्ड संकलन गरेको बताएका थिए। ठगिने नेपालीमा गोर्खा सैनिकसमेत रहेको बुझिएको छ।

‘यो कुरा गोरखा, उनका साथीहरू र परिवारबीच वनको डँढेलो जस्तै फैलियो,’ स्थानीय पत्र–पत्रिकाले उल्लेख गरेका छन्। उनीमाथि यो बाहेक पनि अन्य ६ वटा आरोप लागेको छ। अभियोगको सुनुवाई यही महिना साउथवार्क क्राउन कोर्टमा हुने पत्र–पत्रिकाले बताएका छन्।

एन्थोनीको कर्तुत ६ वर्षपछि मात्र सार्वजनिक भएको हो। प्रहरीले क्यापिटल मार्केटमा छापामारी महत्वपूर्ण कागजात र कम्प्यूटर बरामद गरेका थिए। छापाको क्रममा प्रहरीले १३ जनालाई गिरफ्तार गरेको थियो तर आरोपी एन्थोनीलाई मात्र बनाइएको थियो।

एन्थोनीका बुवाको ‘सिल्भर कलर बुलेट’ प्रहार गरि हत्या गरिएको थियो, जुन घटनामा प्रहरीले अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेका छैनन्।

एन्थोनी दोषी प्रमाणित नभएको कारण उनलाई जमानत दिएको बताइएको छ।



No ads found for this position