बेलायतमा नेपालीलाई लगाइएको प्रतिबन्ध यथावत्

बेलायतमा नेपालीलाई लगाइएको प्रतिबन्ध यथावत्

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालीलाई प्रवेशमा लगाइएको यात्रा प्रतिबन्ध बेलायतले यथावत् राखेको छ।

बिहीबार सार्वजनिक गरेको नयाँ कोरोना प्रोटोकलमा बेलायतले नेपाललाई ‘रेड लिस्ट’ मा राख्दै यात्रा प्रतिबन्ध यथावत् राखेको हो।

नेपालमा दैनिक चार हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्दै आएको छ। यस्तै, नेपालमा कोरोनाको चौथो लहर सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ।

यता, बेलायतले छिमेकी राष्ट्रमाथि लगाएको प्रतिबन्ध भने फुकुवा गरेको छ। अगामी आइतबारदेखि भारतीय नागरिकले बेलायत यात्रा गर्न पाउने छन्।

तर, बेलायत जाने भारतीयले १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। यस्तै दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ।

यता, संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ।

आबुधावीस्थित नेपाली दूतावासका अनुसार यूएईको भिसा भएका तर, खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

यस्तै, स्वीट्जरल्याण्ड्ले पनि अगस्ट ४ देखि नेपालीको लागि यात्रा अनुमति खुला गर्ने तयारी गरेको छ।

वैध भिसामार्फत् यात्रा गर्ने नेपालीले क्वारेन्टिन बस्नुपर्ने छैन। तर, खोप भने अनिवार्य लगाउनुपर्नेछ।



No ads found for this position