अवैध रुपमा युरोप छिर्न खोज्दा ग्रीसको सीमामा मारिएका भनिएका ५ नेपाली सकुसल

अवैध रुपमा युरोप छिर्न खोज्दा ग्रीसको सीमामा मारिएका भनिएका ५ नेपाली सकुसल

काठमाडौं। अवैध रूपमा टर्कीबाट युरोप प्रवेश गर्ने क्रममा मारिएका भनिएका नेपाली सकुसल रहेको परिवारिक सदस्य, टर्कीस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) र ग्रीसमा रहेका नेपाली प्रतिनिधिले प्रवास खबरलाई जानकारी दिएका छन्।

यसअघि प्रवास खबरले टर्की र ग्रीसको उत्तरी सीमा नजिक मारिएका ५ नेपालीमध्ये तीन जनाको पहिचान खुलेको समाचार लेखेको थियो।

मारिनेमा लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र ओम मगर भएको र बाँकी दुईको पहिचान खुल्न बाँकी रहेको टर्कीस्थित श्रोतले प्रवास खबरलाई जानकारी दिएको थियो।

तर, मारिएका भनिएका लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र ओम मगर सम्पर्कमा आएको ग्रीसस्थित नेपाली प्रतिनिधि जीवलाल कँडेलले बताए। लक्ष्मण सापकोटा र लोकनाथ आचार्यको गाउँलेसमेत रहेका कैलालीका कँडेलले एथेन्सबाट प्रवास खबरलाई दिएको जानकारी अनुसार दूर्घटनामा मारिएको भनिएका ३ जना मात्र नभएर ६ जनै नेपाली सकुसल रहेका छन्।

‘कार दूर्घटनामा परेपछि उहाँहरूलाई ग्रीसको सीमावर्ती अस्पताल सोलोनिकीमा भर्ना गरिएको थियो। मृत्युको खबर सुनेपछि एथेन्सबाट साढे २ सय किलोमिटर टाढा खोजीनीति गर्न हामी अस्पताल पुगेका थियौं, कँडेलले बताए।

आफ्नो काका लक्ष्मण सापकोटाले मृत्युको खबर आएको दुई दिनपछि अस्पतालबाट बाहिर निस्किएर फोन गरेको भतिजा गणेश सापकोटाले पनि पुष्टी गरे। ‘मृत्युको खबर सुनेपछि उहाँले अस्पतालबाट बाहिर निस्किएर फोन गर्नुभएको थियो,’ नेपालमै रहेका गणेशले टेलिफोनमार्फत प्रवास खबरलाई जानकारी दिए, ‘मैले अरु नेपाली पनि सकुसल रहेको खबर पाएको छु।’

गत शुक्रबार टर्कीको बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा ग्रीसको प्रहरीले सीमा नजिकै गोली चलाउँदा अवैध रूपमा युरोप प्रवेश गर्न लागेको एउटा गाडी दूर्घटनाग्रस्त भएको थियो। सोही गाडीमा सवार भएका १५ जनामध्ये ७ जनाको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले नै जानकारी दिएको थियो। मर्नेहरूको पहिचान नखुलाएपनि त्यो गाडीमा नेपाली, पाकिस्तानी र अफगानी रहेको ग्रीस प्रहरीलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय मिडियाले जनाएका थिए।

तर, दूर्घटनाग्रस्त गाडीमा ६ जना नेपाली मात्र रहेको अरु बीच बाटोमै उत्रिएको सूचना आफूले पाएको गणेशले बताए। दूर्घटनामा परेका भनिएका नेपालीमा लक्ष्मण सापकोटा, लोकनाथ आचार्य, ओम मगर, शर्मिला तामाङ, मनु लामा र राजु लामा छन्। यसमध्ये शर्मिलाको अवस्था चिन्ताजनक भएको भनिएपनि उनी सकुसल रहेको टर्कीस्थित एनआरएनएका अध्यक्ष उज्जवल कुमार घिसिङले बताए।

‘तीन नेपालीको मृत्युको खबर सुनेपछि हामीले सोधखोज गरेका थियौं। ६ नेपाली सकुसल रहेको खबर पाएपछि ढुक्क भएका छौं,’ उनले प्रवास खबरसँग भने।

उपचारपछि नेपालीहरू हाल एथेन्समा रहेको कँडेलले बताए। पछिल्लो समय टर्कीको बाटो हुँदै युरोप छिर्ने आप्रवासीको संख्या बढेपछि अन्तर्राष्ट्रिय मानवअधिकार संगठनले चासो देखाइरहेको बेला भएको यो दूर्घटनाले विदेशी मिडियाको पनि ध्यान खिचेको छ।

टर्कीमा बसेर मानव बेचबिखन गर्ने नेपाली गिरोह सक्रिय भएको खबर बारम्बार आइरहन्छ। १३ दिन जंगलको बाटो हुँदै एसिया र मध्यपूर्वी देशका आप्रवासीहरू युरोप छिर्न टर्की र ग्रीसबीचको सिमानामा रहेको इभ्रोस नदी पार गर्ने गरेका छन्। यसले थुप्रै मानवीय क्षति निम्त्याएको छ। अझ, मानव तस्करको चंगुलमा फस्दा सूचना बाहिर नआउने प्रवृत्तिले परिवारका सदस्य थप तनाव बेहोरिरहेका छन्।



No ads found for this position