साउदी : अस्पतालको शय्यामा छट्पटाउँदै नेपाली युवा, कम्पनीले चासो दिएन

साउदी : अस्पतालको शय्यामा छट्पटाउँदै नेपाली युवा, कम्पनीले चासो दिएन

‘उडायो सपना सबै हुरीले’ संगीतकार तथा गायक मुरलिधरको यो चर्चित गीत कसले नसुनेको होला र ? सबैको मुुख मुखमा झुण्डिने यो गीत यतिवेला भने साउदीमा रहेका एक नेपाली लक्का जवानको जीवनसँग ठ्याक्कै मेल खाएको छ। साउदी अरबको दमामस्थित मौवासत हस्पिटलको बेडबाट उनले अहिले आफ्ना जीवनका आरोह–अवरोहलाई सम्झिरहेका छन्।

यो कहानी हो, लालबन्दी सर्लाहीका देवराज पौडेलको। विदेशमा राम्रो कमाइ हुने आशामा देवराज २१ जनवरी २०२१ मा मरुभूमिको देश साउदी हानिएका थिए। दमामस्थित तलाल हमाद अल विनाली जनरल कन्ट्रयाक्टिङ कम्पनीमा सवारी चालकको काम थियाे उनकाे। सडक निर्माणका लागि उक्त कम्पनीले गिटि बालुवा बोक्ने काम गथ्र्यो।

साउदीमा देवराजका सुरुवाती दिनहरु राम्रै बिते। साउदीको पसिनासँग पौँठे जोरी खेलेर कमाएको केही पैसा घरमा पनि पठाउँथे। तर, जीन्दगी सधै एकैनासको नहुने रहेछ। अहिले देवराजले देखेका सपना तुहिएका छन्। सपना सबै हुरीले उडाएको छ। उनी साउदीको दमामस्थित मौवासत अस्पतालको बेड नम्बर ३२२ मा जीवन मृत्युसँग जुधिरहेका छन्।

कुरा हो गत १३ जनवरी साँझको। देवराज सदा जस्तै आफ्नो काम सकेर कोठातर्फ जाँदै थिए। ‘म कामबाट फर्कँदै थिए। म आफै गाडी चलाएर कोठातर्फ जाँदै थिए। एक्कासि अर्को गाडीले हान्यो,’ देवराजले प्रवास खबरसँग आफ्नो दुखको पोयो फुकाउँदै भने, ‘एक जना साथीसँगै थियो। उसलाई केही भएन। तर, मलाइ भने नराम्रो चोट लाग्यो।’ उनी मिनी ट्रक दुर्घटनामा परेका थिए।

त्यो दुर्घटनापछि उनी अस्पतालको शय्यामा छट्पटाइरहेका छन्। अहिले त उनको हात भन्दा तलका कुनै पनि अङ्गले काम नै नगर्ने भएका छन्। अस्पताल उनको आफ्नो भन्नु कोही छैन। उनको साहारा भनेकै अस्पतालका नर्स हुन्।

‘दुर्घटना भएपछि मलाई केही थाहा नै भएन। अस्पताल पुगेपछि मात्रै होस आएको रहेछ,’ उनी भन्छन्, ‘होसमा आउँदा त हात भन्दा तलको कुनै पनि अङ्ग चलेन।’

कम्पनी पन्छियो

देवराज अस्पतालमा पुगेको धेरै दिन भयो । उनको उपचारको विल पनि निकै भएको छ । तर,आफ्नै कामदारको दुर्घटना भएर अस्पतालमा अचेत अवस्थामा लडिरहँदा कम्पनीले हेरचाह नगरेको उनको गुनासो छ।

‘मैले पहिले साइड इन्चार्जसँग सम्पर्क गरिरहेको थिएँ । कम्पनीको गाडी बनाउन आउने एक जना यमनीसँग पनि कुरा भइरहेको थियो,’ उनी भन्छन्, ‘पहिले मेरो घाँटी र मेरुदण्डको हड्डी भाँचिएको भनेका थिए। त्यसको अप्रेसन गर्ने बेलामा इन्जिनियर आएका थिए। त्यसपछि केही पनि कम्पनीको मानिस अस्पतालमा आएका छैनन्।’ अहिले कम्पनीका प्रतिनिधिलेले देवराजसँग कुरा नै गर्न छोडेका छन्।

उनले काम गर्ने कम्पनी नयाँ हो । त्यहाँ ७ जना त नेपाली नै छन् । उनीहरू सबै ड्राइभर नै हुन् । देवराजले ती नेपाली साथीसँग कुरा गर्दा कम्पनीको मान्छे पठाउँछु भनेर आश्वासन पनि दिएका थिए। तर, उनीहरूको कुरा के सुन्थे कम्पनीका मालिकहरूले।

समस्यामा परेका आफ्ना श्रमिकलाई रोजगारदाताले सहयोग गर्नुपर्ने साउदी सरकारको नियम छ। दुर्घटनामा परेका श्रमिकको उपचार तथा निजलाई क्षतिपूर्ति दिने जिम्मेवारी रोजगारदाताको हुन्छ। तर, देवराजको हकमा भने कम्पनीले दायित्व पूरा गरेको छैन। कम्पनीले आफ्नो बिमा समेत नगरेको देवराज बताउँछन्। अस्पतालमा धेरै बिल उठेकै कारण कम्पनी उनको उपचारबाट पन्छिएको देखिन्छ।

अस्पताल प्रशासनको दवाव

साढे २ महिनादेखि अस्पतालको बेडमा उपचाररत देवराजलाई बेला–बेला कम्पनीको मानिसलाई बेलाउनु भनेर अस्पताल प्रशासनले दवाव दिन्छ।

‘हामीले गर्ने उपचार हामीले गरिसक्यौँ। कम्पनीलाई बोलाएर डिस्चार्ज गर्न भन्छ। तर, कम्पनीलाई फोन गर्दा सम्पर्कमा नै आउँदैन,’ उनले दुखेसो पोखे।

उनको कुनै अङ्ग नचलेकाले दिसा पिसाब लागेको पनि थाहा हुँदैन। उनलाई नर्सहरुले बच्चालाई जस्तो डाइपर लगाइदिएका हुन्छन्।

देवराज साउदी गएको एक वर्ष नपुग्दै दुर्घटनामा परे। विदेश जाँदाको ऋण समेत चुकाउन सकेका छैनन्। अस्पतालको बिलको त के कुरा, उनीसँग नेपाल फर्किन टिकट काट्ने समेत पैसा छैन।

‘यहाँ डाक्टरहरू आउँदैनन्। सबै नर्सहरूले नै गरेका छन्। दिसा पिसाबमा उनीहरूले नै सहयोग गर्दै आएका छन्। धन कमाउन आएको म दिसा पिसाब लागेको समेत थाहा नपाउने अवस्था आयो,’ उनले आफ्नो दुख सुनाए।
देवराजको घरमा श्रीमती र एक छोरी छन्। आमाबुवाबाट छुट्टिएर बसेका थिए देवराज।

आफू दुर्घटनामा परेपछि उनले दूतावासमा इमेलमार्फत जानकारी गराएका थिए। केही दिन अगाडि दूतावासका प्रतिनिधि आएर उनको अवस्थाबारे जानकारी लिएर फर्किएको छ। तर, दूतावासले के कसरी सहयोग गर्ने भनेर उनलाई जानकारी गराएको छैन।

अस्पतालले भने कम्पनी सम्पर्कमा नआएका कारण आफैले पैसा तिरेर डिस्चार्ज हुनुपर्ने बताएको छ। करिब २ महिनाको अस्पतालको बसाई र ठूला–ठूला अप्रेसन गर्नु परेका कारण विल निकै नै उठेको छ । उनको सेवामा खटिएका नर्सहरूले पनि अस्पतालको विल धेरै भएका कारण पैसा तिरेर नेपाल जान सक्दैनस् भनेर बेला बेला झस्काउने गरेका छन्। तर, उनलाई अहिले कति विल उठेको छ भन्ने थाहा छैन।

‘धेरै पहिले कम्पनीको इन्जिनियर अस्पताल आउँदा एक लाख साउदी रियाल विल उठेको भनेका थिए। अहिले त कति थुप्रै पुगेको होला,’ उनले भने।

उनी विदेशको अस्पतालमा बिना खर्च बस्नुभन्दा नेपाल फर्कन पाए परिवारको मुख देख्न त पाइन्थ्यो की भन्ने आशामा छन्।

एनआरएनएसँग गुहार

कम्पनीले चासो नदेखाएपछि देवराजले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई गुहारेका छन्। आफ्नो उद्धारको लागि संघमा निवेदन दिएको उनी बताउँछन्।

उनले संघको अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका उपाध्यक्ष डा. बद्री केसीसमक्ष सहयोग र उद्धारको लागि निवेदन दिएका हुन्।

 

 

 



No ads found for this position