नर्वेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ प्रतियोगिता, नेपाली बालबालिका उत्साहित

नर्वेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ प्रतियोगिता, नेपाली बालबालिका उत्साहित तस्वीर सौजन्य : गणेश फोटोग्राफी/एनटुएन प्रडक्सन्स

ओस्लो। गत साता गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने हेतुले ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट २०२२’ आयोजना गर्‍यो। कोभिडका कारण झन्डै २ वर्षपछि राजधानी ओस्लोमा नेपाल र नेपालीको हितमा कार्यक्रममा आयोजना हुँदा बालबालिका र अभिभावक निकै खुशी देखिन्थे।

ओस्लोमा हुने प्रायः नेपाली कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउन हौसिनेमध्ये कि एन हुन् १० वर्षीया दर्शिका महत। ‘चेप्टो चेप्टो पेरुङ्गा’ बोलको गीतमा नृत्य पस्केकी दर्शिकाले यसपालीको प्रतियोगितामा प्रथम हुन नसके पनि धेरैपछि नेपाली कला झल्किने प्रस्तुती देखाउन पाउँदा खुशी देखिन्थिन्। ५ कक्षामा अध्ययनरत दर्शिका नर्वेजियन स्कुलमा हुने संस्कृतिक कार्यक्रममा पनि नेपाली नृत्य देखाउन पछि पर्दिनन्।

नृत्य विधामा सहभागी अर्की प्रतिस्पर्धी हुन्, क्रिस्टिना गिरी। ११ वर्षीया क्रिस्टिनाले गाउँकी गोरी बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन्। क्रिस्टिना नर्वेजियन स्कुलमा हुने संस्कृतिक कार्यक्रममा सेल्लो बाजा बजाउने गर्छिन।

प्रतिस्पर्धामा सहभागी बालबालिका जत्तिकै खुशी अभिभावक पनि देखिन्थे। कार्यक्रममा सहभागी अभिभावकमध्ये एक हुन् बेल कुमारी थापा पुन। उनकी ६ वर्षीया छोरी स्नेहा थापा चित्रकला प्रतियोगितामा भाग लिएकी थिइन्। कार्यक्रम सकिनासाथ फोटो सेयर गर्दै बेल कुमारीले फेसबुकमा लेख्छिन, ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट कायक्रम आयोजना गरेकोमा एनआरएनए नर्वेलाई हृदयदेखि नै धन्यवाद।’ यस्ता कार्यक्रमहरू बौद्धिक विकास र सामाजिक अन्तरक्रिया दुवैको लागि लाभदायक रहेको उनको भनाइ छ। यस किसिमका कार्यक्रमले बाल विकासमा सांस्कृतिक प्रभाव पार्न मद्दत गर्ने उनले बताइन। सामाजिक संस्थाले समय छुट्टाई बालबालिकाको लागि गर्ने यस्ता कार्यक्रममा सक्रिय भएर सहभागी हुन सबै अभिभावकहरुलाई सुझाव समेत उनले दिइन्।

कार्यक्रममा उपस्थित अर्का अभिभावकले प्रतियोगिताका लागि छनोट गरिएका निर्णायकहरुप्रति आफू निकै सन्तुष्ट भएको बताए। ५ निर्णायकमध्ये एक थिए, संगीतकर्मी केशव राज आचार्य। काठमाडौँ विश्वविधालयबाट संगीतमा स्नातक गरेका केशवले ओस्लो विश्वविधालयबाट म्युजिकोलोगीमा स्नातकोत्तर गरेका छन्। उनले ‘म कैदी प्रेमको’, ‘जाँदैछु म मुग्लानमा’लगायतका गीतमा शब्द, संगीत र स्वर भरेका छन्। कार्यक्रमपछि प्रतिक्रिया दिदै केशव भन्छन्, ‘यस प्रकारको कार्यक्रमले विशेषगरी प्रवासी भूमिमा नेपाल र नेपालीको संस्कृतिको छुट्टै पहिचान स्थापित गर्न सहयोग पुर्याउँछ। नेपालबाट सानै उमेरमा आएका र यतै जन्मिएका बालबालिकाहरुमा नेपाली संस्कृतिप्रतिको माया मोह बढाएर उनीहरुमा अन्तरनिहित विभिन्न प्रतिभा प्रष्फुटनमा ठूलो सहयोग पुर्याउँछ।’

अर्का निर्णायक थिए गायक विष्णु छेत्री। ‘गाँजल लाउँदा राम्री’लगायतका गीतमा स्वर भरेका छन् । त्यस्तै अर्का निर्णायक थिए, रंगकर्मी राम हरि ढकाल। ओस्लो एकेडमी अफ आर्ट्सबाट सिनोग्राफीमा स्नातकोत्तर गरेका राम हरिले रंगमंचका विभिन्न विधामा आफ्नो कला देखाइसकेका छन्। नर्वेमा लोकप्रिय संगीत समूह उमार–शेरिफको कार्पेको म्युजिक भिडियोमा राम हरिलाई देख्न पाइन्छ। उनले नेपालीहरुले भोगेका १० वर्षे द्वन्दको वास्तविक जीवनको अनुभव सँगाली तयार पारिएको नाटक भित्र रबाहिर भाग ४ मा आफ्नो जिवन्त प्रस्तुति दिएका छन्।

एनआरएनए नर्वेका वर्तमान प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष संजीव कुमार थापाले प्रतियोगिता पछिको समिक्षा बैठकमा कार्यक्रम अत्यन्तै राम्रो भएको तथा यसको अझै स्तरोन्नति गर्दै लैजानुपर्ने सुझाव दिए। ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट’ पहिलो पटक उनको कार्यकालमा सुरु भएको थियो। कार्यक्रमका संयोजक नभराज अधिकारीले धेरै बालबालिकाहरुको सहभागिता, अभिभावकहरुको उत्साहपूर्ण उपस्थिति, नर्वेस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको साथले ओस्लोमा नेपाली कला र संस्कृतिलाई गुन्जायमान गराउन सफल भएको बताए।

विदेशमा रहेका प्रत्येक प्रवासी आफ्नो देशको सम्भावित सांस्कृतिक दुत हुन् जसले गर्ने दैनिक व्यवहार र सांस्कृतिक उपभोगबाट देशको संस्कृतिको प्रचारप्रसार गरिरहेका हुन्छन। कार्यक्रममा स्वर्गीय लोकगायक जयनन्द लामा प्रति श्रद्धांजली अर्पण गर्दै निर्णायकलगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए। आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने महासचिव बिष्णु गौतमले जानकारी दिए।



No ads found for this position