सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी File Photo

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा उजुरी परेको हो ।

लामिछाने अहिले वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन । लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी सम्हालेका थिए ।

नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको थियो । एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्किएको छ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो ।

त्यसैको अघिल्लो दिन भदौ ५ गते लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको उजुरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको पनि जनाएको छ ।

प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् । किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफुलाई लामिछानेले जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आएका लामिछाने चर्चित इन्डीयन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका छन । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका लामिछाने विश्व चर्चित क्रिकेटर हुन ।



No ads found for this position