क्रिकेट टोलीलाई बधाई दिँदै अध्यक्ष आचार्यले भने– खेलकुद विकासमा एनआरएनएले सहयोग गर्छ

क्रिकेट टोलीलाई बधाई दिँदै अध्यक्ष आचार्यले  भने– खेलकुद विकासमा एनआरएनएले सहयोग गर्छ

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले विजयी सुरुवात गरेपछि कार्यकारी अध्यक्ष कुल आचार्यले खेलाडीहरुलाई बधाई दिएका छन्।

एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको थियो। वर्षाका कारण ६ ओभरमा छोटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको संघले निर्धारित ६ ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन जोडेको थियो।

संघको जीतमा खुशी व्यक्त गर्दै आचार्यले भने, ‘विदेशमा बसेर पनि राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएर सामाजिक र सांस्कृतिक भातृत्व विकास गर्न क्रिकेट खेलमार्फत पुर्‍याएको योगदानको संघले कदर गर्दछ। खेलाडीहरुलाई हार्दिक बधाइ छ।’

संघका खेलाडीलाई हौसला दिन अध्यक्ष आचार्य टीयूस्थित क्रिकेट मैदानमै पुगेका थिए।

अध्यक्ष आचार्यले खेलकुदले गैरआवासीय नेपाली र नेपालबीच भावनात्मक सम्बन्ध प्रगाढ बनाउने बताए। ‘यो खेल मात्र होइन दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको भावनात्मक सम्बन्ध विकास गर्ने कडी पनि हो,’ उनले भने।

उनले नेपालको खेलकुद विकासमा एनआरएनएले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले आगामी खेलमा पनि जीतको लागि शुभकामना दिए।



No ads found for this position