टर्की महाभूकम्प : सुरक्षित स्थानमा सारिदिन नेपाली विद्यार्थीको अपिल

काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीले आफूहरुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरेका छन्।
गाजीयान्टेप विश्वविद्यालयमा अध्ययनरत बारा सिमराका शकिल शेखले स्थति स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन आग्रह गरेका हुन्।
‘केही हप्ताको लागि अन्य ठाउँहरुमा बस्ने बसोबासको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यहाँको स्थिति अहिले सहज छैन्,’ उनले प्रवास खबरसँग भने।
उनी विगत तीन वर्षदेखि उक्त विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढीरहेका छन्। उनले आफूसँगै अन्य ५ नेपाली विद्यार्थी समेत आफ्नो सम्पर्कमा रहेको बताए। तीमध्ये एक छात्र हुन्।
अहिले राहत वितरण तथा उद्धारको समस्या भइरहेको उनको भनाइ छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका महासचिव विनोद पौडेलले भूकम्प प्रभावित क्षेत्रबाट अहिलेसम्म ३१ नेपाली सम्पर्कमा आएका छन्।सम्पर्कमा रहेका सबै नेपाली सुरक्षित रहेको उनले बताए।
भूकम्पबाट पीडत नेपालीलाई एनआरएनएले उद्धार गर्ने तयारी गरिरहेकाे महासचिव पौडेलको भनाइ छ। ‘केन्द्रीय समितिसँग समन्वय गरिरहेका छौँ। हामी तयारी अवस्थामा छौं,’ उनले भने।
अहिले टर्कीका धेरै सहर अस्तव्यस्त छन्। सडक र सञ्चार सम्पर्क स्थापित हुने बित्तिकै सम्पर्कमा आएका नेपालीलाई उद्धार गरेर सुरक्षित स्थानमा ल्याइने उनले बताए।
‘यहाँ अहिले सबै कुरा अस्तव्यस्त छ। गाडीहरु चल्न गाह्रो छ। सरकारले पनि जहाँ हो त्यहीँ सुरक्षित रहन आग्रह गरेको छ। हामीले पनि नेपालीलाई त्यही भनेका छौँ,’ पौडेलको भनाइ छ।
सोमबार गएको भूकम्पमा परी अहिलेसम्म १२ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
ताजा अपडेट
