रुस–युक्रेन युद्धमा २४ नेपाली युवाले ज्यान गुमाए

काठमाडौं। युक्रेनविरुद्ध लड्न रूसी सेनामा भर्ना थप ७ नेपालीको मृत्यु भएको भएको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप ७ जना नेपाली युवाले ज्यान गुमाएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ।
‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।
पैसा कमाउने र घर–परिवारको सपना पूरा गर्ने जिम्मेवारी बोकेर मानव–तस्कारलाई लाखौँ रकम बुझाएर धमाधम नेपाली युवाहरू रुस पुगेका छन्।
यसरी रुस पुगेका नेपालीको सरकारसँग कुनै तथ्याङक छैन। दुई हजारभन्दा बढी नेपाली रुसी सेनामा पुगेकाे त्यहाँका नेपाली संघ–संस्थाका अगुवाको अनुमान छ।
२४ नेपालीले ज्यान गुमाए
थप ७ जनासहित रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या २४ पुगेको छ। यसअघि पटक–पटक गरेर १७ नेपालीको मृत्यु भएको मन्त्रालये पुष्टि गरेको थियो।
यसअघि रोल्पाका घनसिंङ पुन, कैलालीका भरतबहादुर शाही, दार्चुलाका कुन्दनसिंह नगाल, स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, बाँकेका संजय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्ता, दाङका जितबहादुर पुन, कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराम मोक्तान, कपिलवस्तुका रुपक कार्की, गोरखाका सन्दीप थपलिया, दोलखाका राजकुमार रोकाले ज्यान गुमाएका थिए।
ताजा अपडेट
