नेपालीलाई काठमाडौंमै सेवासुविधा सहज गर्न पोर्चुगलसँग आग्रह

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले दिल्लीस्थित पोर्चुगिस राजदूत जोआओ रिबेरो डे अल्मेडासँग भेटवार्ता गरेका छन्।
काठमाडौंमा भएको भेटमा डा. केसीले पोर्चुगलमा रहेका नेपालीले भोग्दै आएका समस्याकाबारेमा राजदूत अल्मेडालाई जानकारी गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
काठमाडौंमा पोर्चुगलको दूतावास छैन। नेपाल मामिला हेर्ने जिम्मेवारी पनि दिल्लीमा रहेको दूतावासको हो।
काठमाडौंमा दूतावास नहुँदा नेपालीले अनेकौं समस्या भोग्दै आएका छन्। पछिल्लो समय पोर्चुगलमा नेपालीको संख्या ह्वात्तै बढेको छ।
संघका अध्यक्ष डा. केसीका अनुसार अहिले पोर्चुगलकै राहदानी लिने नेपालीको संख्या पनि धेरै छ।
उनका अनुसार पोर्चुगलमा रहेका नेपालीले परिवारका सदस्यलाई उता बोलाउन एकदमै कठिन छ। भिसा प्रक्रियाका लागि भारत जानुपर्ने बाध्यता छ। पोर्चुगलका लागि भिएफएस सेवा पनि काठमाडौंमा उपलब्ध छैन।
‘हामीले नेपालमा पोर्चुगिज नेपालीका परिवारलाई भिसा उपलब्ध गराउन, नेपालबाट भिएफएस सेवा सुरु गर्न अनुरोध गरेका छौं,’ अध्यक्ष डा. केसीले भने, ‘पोर्चुगलमा झण्डै ५० हजार नेपाली बसोबास गर्दै त्यहाँको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।महामहिम राजदूतले ती समस्यालाई गम्भीरतापूर्वक लिएर छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’
संघले काठमाडौंमा पोर्चुगलको दूतावास खोल्न पनि राजदूत समक्ष आग्रह गरेको छ।
‘नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ। हामीले काठमाडौंमै दूतावास खोल्न आग्रह गरेका छौँ। उहाँ एकदमै सकारात्मक हुनुहुन्छ,’ डा. केसीले उनले भने।
नेपालले पनि लिस्वनमा दूतावास स्थापना गर्ने निणर्य गरिसकेको छ। अब काठमाडौंमा पनि पोर्चुगलको दूतावास नभइ नहुने डा. केसीको भनाइ छ।
ताजा अपडेट
