टोकियोमा शिवहरिले लिपेको ‘रातोमाटो’ (भिडियाे)

टोकियोमा शिवहरिले लिपेको ‘रातोमाटो’ (भिडियाे)

टोकियो। जापानमा त्यस्तो कुनै ठाउँ छैन जहाँ नेपाली पाइला नपुगेको होस्।

राजधानी टोकियोमा मात्र होइन यहाँका अन्य शहरहरूमा पनि दिनानुदिन भरिदैँछन् नेपालीहरू। जापानमा अहिले नेपालीको संख्या डेढ लाख नाघिसकेको छ।

सुरुमा अध्ययन तथा जागिरको सिलसिलामा जापान छिरेका धेरै नेपाली पछिल्लो समय आफ्नै व्यापार–व्यवसायमा पनि स्थापित भइरहेका छन्।

जापानमा अहिले नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउँदै गएको छ। नेपाली रेन्टुरेन्टहरू छ्याप्छाप्ती खुलेका छन्।

टोकियो होस् वा अरु कुनै सहरका रेष्टुरेन्टमा फहराइएका नेपाली झण्डाले देशको चिनारी र पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याइरहेका छन्।

वैदेशिक रोजगारीका सिलसिलामा जापान पुगेका नेपाली सुरुमा भारतीय होटल तथा रेस्टुरेन्टहरूमा थिए। सुरुमा भारतीयले भान्सामा छिराएका उनै नेपाली अहिले आफ्नै व्यवसाय सञ्चालन गरेर भारतीय अनि पाकिस्तानीलाई समेत रोजगारी दिइरहेका छन्।

नेपालीले जापानका विभिन्न ठाउँमा रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सङ्ख्या ह्वात्तै बढेको हो।

नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ। जापानमा अध्ययनका लागि आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमै जोडिन्छन्।

दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःम अनि अरु पनि रैथाने परिकारहरूले नेपाली खानालाई जापानमा परिचित बनाएको छ।

विश्वकै व्यस्त सहरमा पर्ने जापानको टोकियोमा नेपाली खानासँगै कला र संस्कृतिको प्रवद्र्धन गर्नेमध्ये एक हुन्, लमजुङका शिवहरि पौडेल।

शिवहरिले अरु नेपालीले भन्दा बेग्लै मौलिक परम्परागत काठ र रातो माटोका सामग्रीले सजिएको रेष्टुरेण्ट चलाएर टोकियोमा नेपाल चिनाइरहेका छन्।

शिवहरिले रेस्टुरेन्टको नाम नै ‘रातोमाटो’ राखेका छन्। रेस्टुरेन्टमा प्रयोग गरिने सम्पूर्ण भाँडाकुडा रातो माटोकै छन्।

यसको डिजाइन नै विशेष किसिमले गरिएको छ।

ढोकाबाहिर काठमा कुँदेर बनाइएको पशुपतिनाथ मन्दिर। त्यसकै छेउमा माटोबाट बनाइएको कछुवा।

ढोकाबाट छिर्नेबित्तिकै पुरातात्विक वस्तुहरुको सजावट देख्न सकिने रेस्टुरेन्टका भित्तामा नेपाली माटोबाट बनाइएका घैला, करुवा, घण्टीका साथै एकातर्फ कोरिएको राजा वीरेन्द्रको चित्र। तामामा कोरिएको विभिन्न भगवानको आकृति र अर्कोतर्फ भैरवको आकृतीले रेष्टुरेण्टको आकर्षण अझ बढाएको छ।

धार्मिक, सांस्कृतिक तथा विविधतायुक्त मुलुकको रुपमा चिनिएको नेपालको मौलिकता प्रवासमा देख्न पाउनु जो कोही नेपालीका लागि गौरवको कुरा हो।

१२ वर्षअघि जापान पुगेका शिवहरि पनि सुरुमा जापानिज कम्पनीमा काम गर्थे। नेपालमा रहँदा विभिन्न व्यवसाय गरिसकेका शिवहरिलाई जापानमा पनि व्यवसाय गर्ने रहर जाग्यो। त्यसपछि उनले जापानमा हलाल फुड खोले। रेस्टुरेन्टमा लगानी गरे।

शिवहरिलाई व्यवसाय गर्ने क्रममा विभिन्न किसिमका अवरोध आए। त्योबेला उनले मनले नेपाल फर्किने योजना पनि बनाएका थिए। तर, उनले हिम्मत हारेनन्। शिवहरिलाई जापानले मेहनत र सीप विकास सिकाएको थियो।

आफ्नो देशको मौलिकता विश्वलाई चिनाउने रहर पौडेललाई जाग्यो। उनले एक फरक किसिमको परिकल्पना गरे। त्यसपछि जन्मिएको हो ‘रातोमाटो।’

शिवहरिलाई आफ्नो व्यवसायमा नेपालको पहिचान झल्काउनु थियो। देशमा भए यो कुरा सहजै सम्भव हुने थियो। तर, विदेशमा देशमा जस्तो त कहाँ हुन्थ्यो र !

माटोका भाँडाकुँडा, रेस्टुरेन्टमा राखिएका नेपालको संस्कृति झल्काउने सामान, काठका टेबल नेपालबाटै ल्याउनुपर्दा केही अप्ठ्यारो भने झेल्नुपर्‍यो। धेरै खर्च लाग्यो।

तर, मनले चाहेपछि असम्भव भन्ने के नै छ र१ देखेको सपना पूरा गरेरै छाडे शिवहरीले।

यिनै नेपालीपन झल्किने सामग्रीका कारण आज रातोमाटाले टोकियोमा बेग्लै पहिचान बनाएको छ, सबैको रोजाइमा परेको छ।

ग्राहकलाई गुणस्तरीय र स्वादिष्ट खाना खुवाउनु आफ्नो पहिलो प्राथमिकता भएको शिवहरि बताउँछन्।

रातोमाटोमा बनेको मटन, चिकेन र बिर्यानीका परिकार, गुन्दु्रक, ढिंडो र नेवारी परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ। नेपाली खानाको स्वादमा ग्राहक लोभिने गरेको उनको भनाइ छ।

शिवहरिको रेस्टुरेन्टमा ८ जना नेपाली युवाले रोजगारी पाएका छन्। शिवहरि आफैं पनि उनीहरुसँगै खटिन्छन्। प्रायजसो उनी ग्राहकसँग खानाको स्वादबारे प्रतिक्रिया लिन व्यस्त हुन्छन्। रेस्टुरेन्टमा आउने विदेशी ग्राहकले पनि नेपाली खानाको प्रशंसा गर्ने गरेका छन्।

रातोमाटोमा नेपालीका साथै नेपाली खाना मन पराउने, नेपाल पुगेका र नेपाली खानाबारे सुनेका विदेशी ग्राहक आउने गरेका छन्। रेस्टुरेन्टमा नेपालीसहित जापान, भारत, बंगलादेश, श्रीलंकालगायत देशका ग्राहक आउने शिवहरि बताउँछन्।

रातोमाटो पुगेका विदेशीहरू एक पटक त नेपाल जानैपर्छ भनेर योजना समेत बनाउने गर्छन। यसरी कैयौं विदेशीलाई नेपाल पठाएर देशको पर्यटन प्रर्वद्र्धनमा समेत राटोमाटोले योगदान पुर्‍याइरहेको छ।



No ads found for this position