भारतदेखि अफ्रिकासम्मका लागुऔषध तस्करकाे बन्यो ‘अखडा’ काठमाडाैँ

भारतदेखि अफ्रिकासम्मका लागुऔषध तस्करकाे बन्यो ‘अखडा’ काठमाडाैँ

काठमाडौं। भिजिट भिसामा अफ्रिकन देश युगान्डाबाट केभिना मुगाल वैशाख ३० काठमाडौँ ओर्लिइन्। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी ४४ वर्षीया केभिना के नेपाल घुम्न आएकी हुन त?

हरेक घटनालाई शंकाको दृष्टिकोणले हेर्ने प्रहरीले उनको गतिविधिलाई सहज रुपमा लिएन।

विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले उनीमाथि चेकजाँच गर्‍यो तर उनको साथबाट शंकास्पद केही भेटिएन। केही नभेटिएपनि प्रहरीको भने उनको गतिविधिमाथि शंकै थियो।

प्रहरीलाई लाग्यो केभिनाको शरीरभित्रै केही पो छ कि! अनि लागुऔषध नियन्त्रण ब्यूरोले उनलाई प्रहरी अस्पताल महाराजगञ्ज पुर्‍यायो। अस्पतालले उनको पेटको भिडियो एक्सरे गर्‍यो।

एक्सरेमा शंकास्पद वस्तुहरू देखिएपछि प्रहरीले उनलाई सोधपुछ गर्‍यो। त्यसपछि मुगालाले आफ्नो पेटमा लागुऔषध कोकिन राखिएको ‘राज’ बताइन्।

अनि प्रहरी चकित पर्‍यो! कसरी पेटमा कोकिन पुग्यो? अनुसन्धानमा खुल्यो– केभिनाले प्लास्टिकमा प्याक गरेर कोकिन निलेकी रहेछिन्।

प्रहरीलाई कोकिन बरामद गर्नुथियो। अनि प्रहरीले औषधी खुवायो र प्लास्टिकले प्याक गरेर निलेका ९० वटा कोकिन क्याप्सुलहरू पेटबाट निकाल्यो। जसको तौल एक किलो २६० ग्राम थियो।

केभिनाको पेटबाट कोकिन निकालेपछि प्रहरीले उनीसँगै नेपाल आएकी युगान्डाकी अर्की महिला लिलियन सुसान वानयेन्जेलाई पक्राउ गर्‍यो। केभिनासँगै विमानबाट युगान्डा, इथियोपिया, कतार हुँदै नेपाल आइपुगेकी उनी ठमेलको एक होटलमा बसिरहेकी थिइन्।

होटलबाट पक्राउ परेकी उनकाे साथबाट ‘स्निकर’ चकलेटको खोल भेटिएको थियो। जहाँ एक किलो ३९४ ग्राम कोकिन पोको पारेर राखिएको थियो।

सामान्य कृषक परिवारका उनीहरूले २ हजार अमेरिकन डलरको लोभमा कोकिन बोकेर नेपाल आउन जोखिम मोलेका थिए। उनीहरूबाट बरादम गरिएको लागुऔषधको बजार मूल्य करिब ७ करोड ९६ लाख रुपैयाँ बराबरकाे रहेको प्रहरी बताउँछ।

प्रहरीले केभिना र लिलियनमा मात्र अनुसन्धान रोकेन। उनीहरूबाट कोकिन कसले लैजाने हो, उसको पनि खोजी गर्दा प्रहरीले भारतीय महिला देवाञ्जनी पाललाई पनि समात्यो।

अफ्रिकन मुलकबाट ल्याइएकाे काेकिन भारत भित्र्याएबापत देवाञ्जनीलाई २० हजार भारु दिइने शर्त राखिएको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका उनीहरू मात्र भरिया भएको ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए।

केभिना, लिलियन र देवाञ्जनी एउटा उदाहरण मात्र हुन्, उनीहरू जस्ता धेरै विदेशी लागुऔषध भरियाहरू नेपालका कारागारमा छन्।

पछिल्लो तीन वर्षयता मात्र ५५ जना विदेशी नागरिक पक्राउ गरेर मुद्धा चलाइएको थपलियाले बताए।

आर्थिक २०७८/०७९ को तथ्याङ्कअनुसार १६ जना विदेशी नागरिक पक्राउ परेका छन्।

१६ जनाबाट प्रहरीले ६५ केजी ८६६ ग्राम हेरोइन, ६ केजी खैरो हेरोइन, ३२९ ग्राम कोकिन र ३६ ग्राम गाँजा बरामद गरेको थियो।

यसरी लागुऔषध बोकेर नेपाल आउनेमा धेरै भारतीय र अफ्रिकन नागरिक छन्।

कति संख्यामा भारतीय र अफ्रिकन छन् भन्नेमा प्रहरीले तथ्याङ्क दिएन।

विदेशीले नेपाललाई कसरी बनाइरहेको छ ट्रान्जिट?

२०७१ सालमा ११ केजी कोकिनसहित मलेसियन ३६ मारिना बिन्ती जमालुदीन पक्राउ परिन्।

पाँच वटा ल्यापटपको ब्यागभित्र फल्स बटम बनाएर लुकाईछिपाई लैजाने क्रममा उनी विमानस्थलबाट पक्राउ परेकी थिइन्।

काठमाडौँबाट दोहा हुँदै इटालीको रोम जाने तरखरमा रहेकी मारिनाकाे साथबाट बरामद भएका कोकिनको बजार मूल्य करिब २२ करोड पर्ने ब्यूरोका डीएसपी प्रेमबहादुर शाहीले बताए।

उनका अनुसार विदेशी नागरिकहरूबाट बरामद भएका महँगा लागुऔषधहरू नेपालमा खासै प्रयोग गरिँदैन। तर नेपाललाई ट्रान्जिट बनाइरहेकाे देखिन्छ।

कोलम्बिया, पेरुलगायत दक्षिण अमेरिकी राष्ट्र्रहरूमा उत्पादन हुने कडा खालको लागुऔषध इथियोपीया, दुबई, खाडी राष्ट्रको सेन्टर हुँदै नेपालको बाटो भएर भारत, हङकङ-चाइना, थाइल्याण्डलगायत देशमा तस्करी हुने गरेको प्रहरी अध्ययनले देखाएको छ।

त्यसरी एकबाट अर्को देशसम्म लागुऔषध ओसारपसार गर्नेहरूमध्ये अहिलेसम्म भरियाहरू मात्रै पक्राउ परेका छन्। मुख्य ‘नाइके’हरूलाई प्रहरी समाउन सक्षम देखिँदैन।

सजाय के छ?

लागुऔषध कारोबारमा पक्राउ परेकाहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सजाय हुन्छ। लागुऔषध नियन्त्रण ऐन, २०३३ काे प्रावधानअनुसार गाँजा सेवन गर्नेलाई एक महिनासम्म कैद सजाय र २ हजार जरिवाना रहेको छ।

त्यस्तै उत्पादन, तयारी, खरिद बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्नेलाई २५ ग्रामसम्मलाई पाँच देखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना छ।

यस्तै २५ देखि एक सय ग्रामसम्म फेला पारेमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना, एक सय ग्रामदेखि माथि भएमा १५ वर्षदेखि जन्म कैदसम्म र पाँचदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान छ।