नेपालमा ३० वर्षअघिको त्यो ‘तातो’ रेकर्ड

नेपालमा ३० वर्षअघिको त्यो ‘तातो’ रेकर्ड

काठमाडौं। घामका ऐतिहासिक ‘रेकर्ड’हरू पल्टाउँदै जाँदा सन् १९९५ जुन १५ मा पश्चिम नेपालको धनगढी सबैभन्दा धेरै तातेको थियो।

लगभग ३० वर्षअघिको त्यो घामको डिग्री धनगढीमा करिब ४६.४ सेल्सियससम्म पुगेको थियो। तीन दशकका गर्मीमासभरि अहिलेसम्म सबैभन्दा धेरै तापक्रमको त्यो रेकर्ड लगभग अहिलेसम्म पुरिएको छैन।

तर, देशका धेरै ठाउँहरू अहिले पनि घामले उत्तिकै सेकिइरहेका छन्।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले सबैभन्दा धेरै तापक्रम पश्चिम नेपालको दाङ, नेपालगञ्ज र सुदूरपश्चिमका समथल जिल्लाहरूमा छ।

त्यहाँको तापक्रम ४० देखि २१ डिग्री सेल्सियस छ। त्योसँगै आगामी तीन दिनसम्म पनि सोही स्थानहरू तापक्रम कायम रहने मौसम पूर्वानुमानले जनाएको छ। त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेशको तापक्रम ३९ डिग्री सेल्सियस र मधेस र पश्चिममा अत्याधिक तापक्रम रहेको मौसमविद् गोविन्द झाले बताए।

यसपालि गर्मीयामको सुरु भएसँगै जेठ ११ गते धनगढीमा सबैभन्दा धेरै गर्मी थियो। त्यो दिन धनगढीको तापक्रम ४३.४६ डिग्री पुगेको थियो।

यो साताभरि धनगढीले उच्च तापक्रमको रेकर्ड बनाइरहेको छ। धनगढीमा बुधबार पनि देशकै सबैभन्दा उच्च तापक्रम ४३.३ डिग्री मापन गरिएको छ।

देशभरिका भूभागसँगै केही दिनयता काठमाडौँमा पनि तातोपना बढिरहेको छ। एक वर्षभरिको अवधिमा साताको अन्तिमतिर शुक्रबारका दिन काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस महसुस गरिएको थियो। बुधबार पनि काठमाडौँको तापक्रम ३२.२ डिग्री सेल्सियस छ।

यसअघि नै जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदर वर्षा औसतभन्दा धेरै हुने भएकाले पूर्वसुरक्षाका उपायहरू अपनाउन चेतावनी दिइसकेको छ। उसका अनुसार यो मनसुनमा सरदर भन्दा धेरै वर्षा भए पनि पूरै मनसुन अवधि भने तातो नै रहनेछ।

मनसुनका पहिला दुई महिनाहरूमा भने कम वर्षा हुनेछ। त्यसपछि पनि तापक्रम पनि उकालो लाग्ने अनुमान विभागको छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार जुन र जुलाईमा वर्षा कम भए पनि पछिको समयमा हुने बढी वर्षाले मनसुनको अवधिमा हुने कूल वर्षालाई पूर्णता दिने बताइन्।

‘यसपालि मनसुनमा हुने सरदर वर्षाभन्दा ३५ देखि ६५ प्रतिशतसम्म वर्षा र त्यत्तिकैमात्रामा तातोपना पनि बढ्ने सम्भावना छ’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।

नेपालमा करिब करिब १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरतिर बाहिरिने गर्छ। मनसुनका यी महिनामा वर्षाले केही क्षण गर्मीको महसुस कम गरे पनि औसत तापमान भने बढिरहेको हुन्छ। सामान्यतया यो मौसममा कायम हुने तापक्रम पनि यसपालि औसत दरभन्दा बढ्नसक्ने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म आंकलन गरिएको छ।