खाल्डाेको दूषित पानी पिउँदै ‘काकाकुल गाउँ’

खाल्डाेको दूषित पानी पिउँदै ‘काकाकुल गाउँ’

काठमाडौं। रोल्पाको गंगादेव गाउँपालिका–६ देउलटाकुरा र बेरचौरमा ‘खानेपानी’को हाहाकार छ। गाउँमा दशकौँदेखि पानीको अभाव हुँदा स्थानीयहरू पोखरी वा कुवाको दूषित पानी पिउन बाध्य छन्।

पानीको समस्या कतिसम्म छ भने, यहाँका ‘स्थानीयबासी र गाईभैंसी’ले हिजोआज एउटै पोखरीको धमिलो पानी पिइरहेका छन्। टोलछेउको परम्परागत कुवा दुई महिनाअघि सुकेपछि देउलटाकुरा र बेरचौरका ३५ घरपरिवार ‘स्वच्छ खानेपानीको पहुँच’बाट टाढै छन्।

स्थानीय युवा बिमलकुमार खड्का भन्छन्, ‘देउलटाकुरा र बेरचौरका हामीहरू धेरै सालदेखि काकाकुल जीवन बाँचिरहेका छौँ। बिहान सुति–उठ्दादेखि नसुत्दासम्म पानीकै खोजीमा भौँतारिरहेका हुन्छौँ।’

देउलटाकुरा र बेरचौरमा खानेपानीको समस्या खडेरी लाग्दा वा धारामा पानी नआउँदा उब्जिएको होइन। यो वर्षौँदेखिको समस्या हो।

निर्वाचनका बेला गाउँमा खानेपानी ल्याइदिने बाचा गरेपनि ‘सांसद–मन्त्री वा स्थानीय तहका जनप्रतिनिधि’ले आजसम्म समाधानको कुनै उपाय नै खोजेनन्। उनीहरू बरु अन्य योजनाको नाममा कमिसन खानमै लागे। तर काकाकुल गाउँका ३५ घरपरिवारले भोग्दैआएको पानीको चरम अभावबारे कहिल्यै सोचेनन्।

स्थानीय कल्पना खड्काका अनुसार गाउँलेहरूले बाह्रैमास ‘कहिले कुवा त, कहिले बाटोछेउको पोखरी’को धमिलो पानी पिइरहेका छन्। त्योपनि ४० मिनेट हिँडेर दैलोसम्म पानी बोक्नुपर्ने बाध्यता छ। गाग्री र जर्किनमा पानी बोक्नका लागि महिला र बालबालिकाहरूले निकै दुःख भोगिरहेका छन्।

०००

गाउँको फेदमा एउटा खानेपानीको पाइप छ। त्यो पाइपभित्रको पानी ट्याङ्कीबाट जम्मा हुन्छ। तर त्यो पानीले झण्डै आधा घण्टामा एउटा गाग्री भरिन्छ।

‘१५ मिनेट हिँडेर पानी भर्न जाँदा आधा घण्टामा पनि एउटा गाग्री भरिँदैन। त्योपनि पानी भर्नेहरूको लामै भीड हुन्छ’, स्थानीय युवा खड्काले भने, ‘एक–दुई घण्टा पालो कुरेर एउटा सानो गाग्री भरिन्छ भने त्यसलाई के धारा भन्नू! त्यसैले पोखरीको खाइरहेका छौँ।’

‘दुषित पानी छ’ भन्ने जानकारी भएपनि अर्को विकल्प नहुँदा उनीहरूले पोखरीको पानी पिउनुपरेको र दुषित पानीकै कारण स्वास्थ्यसम्बन्धी समस्याहरू झेल्नुपरेको छ।

खानेपानीको लागि अर्थमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रदेशकै स्वास्थ्यमन्त्री दीपेन्द्र पुन र गाउँपालिका अध्यक्ष हरिबहादुर पुनलाई पटकपटक आग्रह गर्दापनि अहिलेसम्म सुनुवाइ नभएको स्थानीयले गुनासो गरेका छन्।

घरघरमा खानेपानीको धारा हुनुपर्ने बेला देउलटाकुरा र बेरचौरका नागरिकसँग ४० मिनेट हिँडेर पोखरीमा जमेको फोहोर पानी बोक्नुपर्ने, पिउनुपर्ने बाध्यता रहीआएको स्थानीय तिला वली बताउँछिन्।

‘खानेपानीको संकटले गाउँ छोडेर भाग्नुपर्ने अवस्था आइसक्यो। तरपनि हाम्रो समस्या कसैले देख्दैन,’ उनले भनिन्।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि देउलटाकुरा र बेरचौरका ३५ घरपरिवारले बाटो छेउको दूषित पानी पिइरहेका छन्।



No ads found for this position