ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ

ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्।

ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा यस्तो धारणा राखेका हुन्।

‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन्।’ शाहले भने, ‘ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ। सेटलाइट सहरहरुमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ। यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ। फरक प्रकृतिको भौगोलिक अवस्थितिमा जनसंख्याको सन्तुलन कायम गराउन मद्दत हुन्छ। यसले सहरी विकास र सुविधा वितरण व्यवस्थापनमा योगदान हुन्छ। यसकारण सहरी नीतिमा महानगरहरुले ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहन गर्नुपर्छ।’

‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन। गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन्। भाषा पनि नासिन्छ। ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ।’ उनको भनाइ छ।

नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो। वहसमा ठूला महानगरपालिकाका मेयर (प्रमुख) हरु सहभागी थिए।

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन्। बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन्। मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो।

बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते व्राजिल प्रस्थान गरेका हुन्। बैठक सकेर उनी असार ८ गते शनिवार स्वदेश फर्किने छन्।