साउदी पुगेका हजारौं हजयात्रीकाे मृत्यु, नेपालीको अवस्था के छ?

साउदी पुगेका हजारौं हजयात्रीकाे मृत्यु, नेपालीको अवस्था के छ?

काठमाडौं। हज यात्राका लागि (मक्का मदिना)  साउदी अबर पुगेका सयौं हज यात्रीहरूको मृत्यु भएपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसप्रति चासो देखाएको छ। समाचार एजेन्सीहरूका अनुसार साउदीको तापक्रम ५१ डिग्री वरिपरि छ। यो तापमानको सामना गर्न नसकेर दिनहुँजसो हजयात्रीको मृत्यु भइरहेको छ।

एएफपीका अनुसार अहिलेसम्म मिश्रका मात्रै लगभग ६८५ जना हजयात्रीको मृत्यु भइसकेको छ। साउदीका कुटनीतिक अधिकारीहरूले अरु पनि हज यात्री मारिएको पुष्टि गरेका छन्। त्यस्तै इन्डोनेसियाले आफ्ना २०० भन्दा धेरै हजयात्रीहरूको मृत्यु भएको जनाएको छ भने छिमेकी भारतका ९८ जना हजयात्रीको मृत्यु भएको छ।

नेपालबाट पनि यस वर्ष ७६५ जना हजयात्रीका साथमा १० जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि साउदी गएको थियो। एक महिना लामो मक्काको यात्रा सकेपछि अब यात्रीहरू १० दिनका लागि मदिनाको यात्रामा छन्। साउदी अरवस्थित नेपालका लागि महावाणिज्यदूत शत्रुधन पोखरेलका अनुसार बाँकेकी ६० वर्षीया सायर बानो सैयदको मृत्यु भएको हो। उनी मधुमेह र मिर्गौलाको बिरामी पनि थिइन्। बाँकी नेपाली हजयात्रीको अवस्था भने सकुशल रहेको अधिकारीहरूले जनाएका छन्।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्यूनिशिया, सुडान, इरान तथा कुर्दिस्तानका समेत हजयात्रीहरूको मृत्यु भएको सम्बन्धित देशहरूले पुष्टि गरेका छन्। वाल स्ट्रिट जर्नलले अमेरिकीहरूको पनि मृत्यु भएको जनाएको छ।
यो यात्राका क्रममा हजारौं हजयात्रीहरू बेपत्ता भएका छन्। उनीहरूका आफन्तले सम्बन्धित अधिकारीहरूलाई आफन्त हराएको बारे जानकारी गराएका छन्। कैयौ आफन्तहरू हराएकाहरू खोज्नका लागि साउदी पुगेका छन्।

हरेक वर्ष मुस्लिम समुदायका लाखौं मानिस हज यत्राका लागि साउदी पुग्छन्। इस्लाम समुदायमा हजयात्रा जीवनको ‘सार्थकता’सँग जोडेर हेरिन्छ।

समाचार एजेन्सीहरूका अनुसार मृत्यु भएकामध्ये धेरैजसो मानिस तीर्थायात्रीका रुपमा दर्ता भएका छैनन्। जसका कारण उनीहरूलाई वातानुकुलित टेन्ट तथा त्यस्तै प्रकारका बसहरूजस्ता सेवासुविधा पाएनन्। कैयौ देशले यसरी जथाभावी तीर्थयात्री पठाउने आफ्ना ट्राभल एजेन्सीहरूलाई कारबाही सुरु गरेका छन्।

साउदीमा अहिले अत्यधिक गर्मी छ। त्यहाँ चलिरहेको तातो हावाका कारण मानिसहरूको मृत्यु भइरहेको साउदीका सरकारी अधिकारीहरू बताउँछन्।

हज यात्रामा अधिकांश उमेर ढल्किएकाहरू जान्छन्। इस्लाम समुदायमा हज यात्रा सबैभन्दा पवित्र तीर्थयात्रा हो। यद्यपि हज यात्राका क्रममा यात्रीहरूको मृत्यु खासै नयाँ होइन तर यसपालि बढिरहेको अस्वभाविक मृत्युको संख्याले सारा विश्वको ध्यान तानेको हो। नत्र यस्तो त १४०० वर्षदेखि हुँदै आएको छ।
समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार पछिल्लो एक हजार वर्षदेखि हज यात्रा गर्मीको याममा भइरहेको छ। त्यसमाथि ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले गर्मी आफैमा बिथोलिएको छ। जसको सिधा असर मान्छेको ज्यानमा परिरहेको छ।

जलवायु विज्ञ कार्ल फ्रेडरिक श्लुसनरका अनुसार सन १८५०-१९०० को तुलनामा अहिले वैश्विक तापमान १।५ डिग्री सेल्सियसभन्दा बढिरहेको छ। जसका कारण गर्मी अझ प्रचण्ड हुँदै आएको छ। यस्तो अवस्थामा मानिसले ‘हिट स्ट्रोक’को खतरा पाँच गुणा बढी सामना गर्नुपर्ने हुन्छ।

हज यात्रीका लागि साउदीले गर्मीबाट बचाउन वातानुकुलित बसोबासको व्यवस्था मिलाएको छ। त्यस्तै प्रकारका सवारी साधनहरूको पूरा व्यवस्था गरेको साउदी सरकारले दाबी गरेको छ। सरकारका अनुसार हजयात्रीका लागि १८९ अस्पतालहरू खडा गरिएका छन्। त्यस्तै सयौं मोबाइल क्लिनिकहरू सञ्चालन गरिएको छ। त्यस्तै ४० हजारभन्दा धेरै स्वास्थ्यकर्मी र स्वंयसेवकहरू पनि हजयात्रीका लागि खटिएका छन्।

इस्लाम समुदायमा एउटा मान्यता छ कि एकपटक हजयात्रा नगए उनीहरूको पूरै जीवन व्यर्थ हुन्छ। त्यसैले यो समुदायका मानिसलाई हज यात्रा जीवनको एउटा लक्ष्य हुन्छ। जीवनको अन्त्यसम्म उनीहरू जसरी पनि हज यात्रामा निस्किने सपना बोकिराखेका छन्। त्यसका लागि उनीहरूले जीवनभरिको आफ्नो कमाइको केही हिस्सा हजयात्राका लागि छुट्याएर पनि राखेका हुन्छन्।

कैयौं मुसलमानहरूको विश्वास हुन्छ कि मक्का मदिनाको यो यात्रामा उनीहरूको मृत्यु भइहालेमा पनि त्यसलाई आफ्नो सौभाग्य ठान्छन्। पवित्र सहरमा मर्नु वा त्यहाँ अन्त्यष्टिको अवसरलाई उनीहरूले ‘अल्लाह’कै आशीर्वाद ठान्छन्।

यो यात्राका क्रममा अत्यधिक गर्मी, अरु बिरामी वा सडक दुर्घटनामा अनि भीडमा च्यापिएर वा हुलदंगाका कारण पनि हजयात्रीको मृत्यु हुनसक्छ। त्यसको सबै जिम्मेवारी साउदी अरब सरकारकै हुन्छ। ती शवहरूको पहिचानदेखि उनीहरूलाई सम्बन्धित देशको जिम्मा लगाउने र परिवारको ठेगानासम्म पुर्‍याउने जिम्मेवारी पनि साउदी सरकारकै हुन्छ। तर त्यसका लागि सम्बन्धित देशको आधिकारिक ‘हजयात्री’ भएको प्रमाणहरू चाहिन्छ।

पहिचान नै हुन नसकेका शवहरूलाई स्थानीय प्रचलनअनुसार नै त्यहीँ अन्त्यष्टी गरिन्छ।