कोकिनको काठमाडौं कनेक्सन

कोकिनको काठमाडौं कनेक्सन

काठमाडौं। गत जेठमा २ किलो ६५४ ग्राम कोकिनसहित तीनजना विदेशी महिलालाई प्रहरीले पक्राउ गर्‍यो। उनीहरूलाई काठमाडौँका विभिन्न होटेलहरूबाट पक्राउ गरिएको थियो। तीमध्ये दुई जना महिला युगान्डाका ४४ वर्षीया केभिना मुगाला, लिलियन सुशान वानयेन्जे र ३३ वर्षीया देवाजनी पाल भारतीय महिला थिए।

जेठ दोस्रो सातातिर फेरि अरु दुई जना विदेशी नागरिक १ किलो ८० ग्राम कोकिनसहित पक्राउ परे। उनीहरूलाई पनि प्रहरीकै लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो। तीमध्ये भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार पराशर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा निरितु थिए। उनीहरूलाई पनि ठमेलकै होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

असार पहिलो सातामै नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ४ जना विदेशी नागरिकलाई करिब साढे ४ किलो ५०४ ग्राम कोकिनसहित पक्राउ गरेको छ। यो कोकिनको ‘अवैध’ बजार मूल्य लगभग १५ करोड ७६ लाख हुन आउँछ।

जेठ २७ गते फ्लाइ दुबईको उडानबाट काठमाडौँ उत्रिएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन मावुगालाई ठमेलको एक होटेलबाट प्रहरीले नियन्त्रणमा लियो। तान्जानियाका नागरिक उनीसँगै होटेलमा प्रहरीले १८ वटा क्याप्सुल पनि बरामद गर्‍यो। प्रहरीको सोधपुछपछि उनले अरु पनि क्याप्सुलहरू पेटमा रहेको भने। त्यसपछि प्रहरीको अपस्पताल महाराजगञ्जमा लगेर उनको पेटबाट थप ५९ वटा क्याप्सुलहरू निकालिएको छ।

इथोपियाको राजधानी आडिस अबावाबाट उनले कोकिनलाई क्याप्सुल बनाएर निलेका थिए। पेट चिरेर क्याप्सुल निकालेपछि अहिले उनको उपचार प्रहरी अस्पतालमै भइरहेको छ। उनीसँग रहेको जम्मा ७ क्याप्सुलको तौल लगभग १ किलो २०६ ग्रामजति हुन आउँछ।

त्यसको तीन दिनपछि अर्थात् जेठ ३० गत इमिरेट्सको उडानबाट बोलिभियन नागरिकलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। ३३ वर्षकी लौरा क्रुज टिकोनसँग लगभग २ किलो सय ग्रामजति कोकिन थिए। त्यो कोकिन उनले महिलाले लगाउने विभिन्न लुगाहरूको टाँक(स्टीलका बटन)भित्र लुकाएर लिएकी थिइन्।

विमानस्थल भन्सार कार्यालयतिर जाँदै गर्दा उनका गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनलाई चेकजाँच गरेको थियो। उनले नीलो रंगको झोला बोकेकी थिइन् र त्यसमा महिलाहरूले लगाउने विभिन्न १२१ खालका फेन्सी कपडा थिए। तिनै कपडाका टाँकभित्र प्रहरीले कोकिन भेटेको थियो। उनी ब्राजिल हुँदै नेपाल आइपुगेकी थिइन्।

असार १ गते कतार एयरको उडानबाट भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राड काठमाडौँ आइपुगे। उनी पनि ठमेलकै एक होटेलमा बसेका थिए। शंकास्पदरुपमा बसिरहेका उनका बारेमा स्थानीयले खबर गरेपछि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनको कोठामा खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथमा ९२ वटा क्याप्सुल भेटिए। ती पनि उनले पेटभित्रै निलेर ल्याएका थिए। उनी पनि ब्राजिलको सापाउलोबाटै काठमाडौँ आएका थिए।

त्यसपछि पछ्याउँदै जाँदा प्रहरीले एकजना भारतीय महिलालाई पनि पक्राउ गर्‍यो। भारतीय राहदानी भएकी २७ वर्षीया लालारु आतसाङगीलाई पनि प्रहरीले त्यही स्थानबाट पक्राउ गरेको थियो। असार ४ गते उनले कोकिनका क्याप्सुलहरू ‘डेलिभरी’ लिँदै गर्दा प्रहरीले रंगेहात पक्राउ गरेको थियो।

भारतको मिजोरम बस्ने उनले विभिन्न देशबाट त्यहाँका नागरिकले ल्याएका कोकिनका क्याप्सुलहरू भारतको नयाँ दिल्लीसम्म पुर्‍याउने काम गर्दै आएकी थिइन्।

कोकिनको काठमाडौँ कनेक्सन कस्तो छ?

खासमा यस्ता लागुऔषधको स्थानीय बजार भने काठमाडौँ वा नेपालका अरु ठाउँहरू पनि होइनन्। यसको एउटा मुख्य केन्द्र भनेकाे भारतको नयाँ दिल्लीलगायत अरु सहरहरू हुन्। सिंगापुर, हङकङलगायत अरु पनि एसियाली ठूला सहरहरू हुन्।

लागुऔषध त्यसमा पनि कोकिनको कारोबारमा पक्राउ पर्ने यी विदेशी नागरिक पहिला र नौला होइनन्। यसअघि पनि थुप्रै विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

लागुऔषधको अवैध विश्वबजारमा ‘कोकिन’ अलि महँगो ‘डोज’ हो। कोकिन एक प्रकारको निकै कडा डोज पनि मानिन्छ।

‘कोका’ बिरुवाका पातहरूलाई विभिन्न रसायन मिसाएर प्रशोधन गरेपछि कोकिन तयार हुन्छ। यो विरुवा खासगरी दक्षिण अमेरिकाका पहाड र जंगली क्षेत्रमा पाइन्छ। र पेरु, कोलम्बिया, बोलिभिया तथा चिलीको दक्षिणी भेगमा कोकिनको अवैध उत्पादन हुन्छ।

यी देशहरूबाट ‘ड्रग्स’ डिलरले विभिन्न देशहरूमा आफ्नो कारोबार फैलाउनका लागि नेपालजस्ता ‘सजिला’ अनि सस्ता देशहरूमा आफ्ना ‘भरिया’हरू पठाउने गर्छन्। नेपालमा विदेशी नागरिकलाई यसमानेमा पनि सजिलो छ कि यो ‘पर्यटकीय’ देश हो। पर्यटकका रुपमा नेपाल आउन सजिलो हुन्छ। त्योसँगै उदांगा सिमानाहरूका कारण भारतमा लैजान पनि सजिलो र छिटो पनि हुन्छ।

‘सुरक्षाका हिसाबले सजिलो होइन, नेपालमा त लागुऔषधको कानुन र त्यसको नियन्त्रणका प्रयासहरू पनि कडा नै छन्’, लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता प्रेमबहादुर शाहीले भने, ‘तर यहाँ घुम्न आउनका लागि सजिलो छ। विदेशी पर्यटक भनेपछि त्यतिधेरै शंका मान्ने पनि हुँदैन भनेर काठमाडौँलाई प्वाइन्ट बनाइएको हुनसक्छ।’

उनका अनुसार विभिन्न देशबाट काठमाडौँ ल्याइएका यी लागुऔषध सबै भारत नै जान्छन् भन्ने होइन, यसअघि प्रहरीले काठमाडौँबाट सिङ्गापुर अनि हङकङजस्ता सहरमा लैजानका लागि ल्याइएका लागुऔषधसहित विभिन्न विदेशी नागरिकलाई पनि पक्राउ गरिसकेको छ।

‘खुला सिमाना पनि भएका कारण भारतमा जान्छ कि भन्ने हो तर भारतमात्रै होइन’, उनले भने, ‘यहाँबाट अरु पनि देशहरूमा जान्छ। खासमा एसियाली देशहरूमा लैजानका लागि काठमाडौँलाई ट्रान्जिट प्वाइन्ट बनाइएको हुनसक्छ कि भन्ने हाम्रो अनुसन्धान छ।’

पेरु, कोलम्बिया, बोलिभिया तथा चिलीको दक्षिणी भेगमा उत्पादन हुने कोकिनहरू दुबई, कतारको ट्रान्जिट हुँदै काठमाडौँसम्म आइपुग्छ अनि यहाँबाट भारततिर। त्यसका लागि त्यहाँबाट ड्रग्स माफियाहरूले भरिया बनाएर पठाउँछन् र यहाँ एजेन्टहरूलाई बुझाउन लगाउँछन्। यसरी आउनेहरू ‘पर्यटक’को भिसामा नेपाल आएका हुन्छन्।

‘अहिलेसम्म कोकिन वा अरु ड्रग्सहरू बोकेर नेपाल आएर पक्राउ परेका विदेशी नागरिकहरू धेरै त गरिब देशका छन् अनि धेरै गरिबहरू पनि छन्’, सहप्रवक्ता शाही भन्छन्, ‘उनीहरूलाई लागुऔषध बोकाएर पठाइएको हुन्छ। कुनै कुनै धेरै पटक यस्तो काममा लागेकाहरू पनि भेटिएका छन्, कतिपय त पहिलोपटक यस्तो काम गरिरहेका हुन्छन्।’

उनका अनुसार पछिल्लो समयमा यसरी लागुऔषध एक देशबाट अर्को देशमा भित्र्याउने तरिका भने फेरिन थालेको छ। पहिला पहिला यस्ता लागु औषधहरू सिधैँ ब्याग वा लगेजहरूमा राखेर काठमाडौँ छिराउँथे। त्योबेला नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका आधुनिक प्रविधिहरू थिएनन्। सामान्य चेकजाँचबाट उनीहरूले ‘माल सामान’ फुत्काइहाल्थे।

अहिले भने त्यो ‘ट्रेन्ड’ फेरिएको छ।

‘पहिला पहिला त्यस्तै हुन्थ्यो। सामान्य ब्याग वा लगेजहरूमा पनि लागुऔषध ल्याउँथे। कतिपय भेटिन्थे, कतिपय छुट्थे’, शाही भन्छन्, ‘अहिले भने ट्रेन्ड फेरिन थालेको छ। अहिले त पेटमा अनि गुप्ताङ्गहरूमा हालेर पनि ल्याउन थालेका छन्।’

अघिल्लो वर्षको पुसमा प्रहरीले अलि फरक प्रकृतिले काठमाडौँबाट हङकङ लैजान लागिएको करिब ६ किलो कोकिनसहित ४ जना विदेशीलाई पक्राउ गरेको थियो। उनीहरूले आफूले लगाएको र ब्यागहरूमा राखिएको ज्याकेटको भित्रिभागमा राखिने न्यानो बस्तु ‘फर’ अर्थात् भुवाको ठाउँमा कोकिनलाई पट्याएर सिलाएका थिए। विभिन्न देशका नागरिकले त्यसरी काठमाडौँ ल्याएर त्यो कोकिन हङकङतिर लैजान लागेको बेला प्रहरीले उनीहरूलाई विमानस्थलबाटै पक्राउ गरेको थियो।

अरु लागुऔषधसँगै कोकिनको कारोबार अहिले बढिरहेको प्रहरीको तथ्याङ्कले पनि देखाउँछ। पछिल्ला पाँच वर्षमा प्रहरीले विदेशी नागरिकबाट लगभग ४५ किलोजति कोकिन बरामद गरिसकेको छ।

कोलम्बिया, पेरुलगायत दक्षिण अमेरिकी राष्ट्र्रहरूमा उत्पादन हुने कडा खालको लागुऔषध इथियोपीया, दुबई, खाडी राष्ट्रको सेन्टर हुँदै नेपालको बाटो भएर भारत, हङकङ-चाइना, थाइल्याण्डलगायत देशमा तस्करी हुने गरेको प्रहरी अध्ययनले देखाएको छ।

बितेका यी पाँच वर्षहरूमा प्रहरीले लगभग ८० जना विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ। तीमध्ये धेरैजसो भरियाहरूमात्रै छन्। यसरी अन्तर्राष्ट्रिय कारोबारीका मुख्य ‘डिलर’हरूसम्म प्रहरी पुग्न सकेको छैन।

‘लागुऔषधको कारोबार नेपाल वा अरु कुनै एकमात्रै देशको सवाल होइन, यो विश्वव्यापी समस्या हो’, शाही भन्छन्, ‘त्यसका लागि अन्तर्राष्ट्रियस्तरकै समन्वय र सहकार्य चाहिन्छ। हामी पनि त्यसका लागि प्रयासरत छौँ।’