बैंककमा नेपाल प्रबर्धनात्मक कार्यक्रम

बैंककमा नेपाल प्रबर्धनात्मक कार्यक्रम

बैंकक। नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास, थाइल्याण्डले १३ असारमा बैंककमा पर्यटन प्रवद्र्धन कार्यक्रमको संयुक्त रुपमा आयोजना गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यवसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे।

नेपालले थाई पर्यटकहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी, राजर्षि महाराजा जनकको राजधानी सहर, जनकपुरदेखि हिमालयको मंत्रमुग्ध गर्ने अनौठो अवसर प्रदान गर्ने बताए।

नेपाल सांस्कृतिक, सम्पदा स्थल, प्रकृति प्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी लगायतका सबै मौसम र हरेक वर्गको पर्यटकको गन्तव्य रहेको उनले बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्री नवीन पोखरेलले एक्सपिरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ विषयमा विषयगत प्रस्तुति दिएका थिए।

आफ्नो प्रस्तुतिमा उनले भगवान बुद्धको जन्मस्थल लुम्बिनी लगायतका नेपालका प्रमुख पर्यटकीय स्थलहरूका बारेमा प्रकाश पारे।

बोर्डले थाइ मार्केटका लागि दीर्घकालिन योजना बनाइरहेले सहकार्यका लागि दूतावास, ब्यवसायीहरु, सञ्चार क्षेत्र सबैमा अनुरोध गरे।

सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका तथा थाई नेपाल फ्रेन्डसिप एसोसिएसन का अध्यक्ष श्री विटिदनान रोजानापानिचले कार्यक्रममा सहभागीहरुसँग नेपाल र हिमालयको बारेमा आफ्नो अनुभव समेत बाँडे।

मिसनका उपप्रमुख मन्त्री काउन्सिलर  प्रकाश अधिकारीले सहभागीहरूलाई स्वागत गरेका थिए।

थाइ–नेपाल चेम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष  रमेशकुमार हमालले पनि नेपाल र थाइल्याण्डबीचको पर्यटनको सम्भावनाबारे चर्चा गरे।

नेपालबाट सहभागी विक्रेता कम्पनीहरुले थाइ ट्राभल एजेन्टसहरुसँग बिटुबी छलफल गरेका थिए।

कार्यक्रममा थाई नेपाली समुदायका युवा कलाकारहरुले थाई नेपाली संघको सहयोगमा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी कम्पनी र एयरलाइन्सको प्रायोजनमा थाई पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न लक्की ड्रमा चार राउण्ड ट्रिप एयर टिकट, होटल प्याकेज र र्याफ्टिङ प्याकेजहरू प्रदान गरिएको थियो।