इरानमा राष्ट्रपतिको लागि मतदान सुरु

इरानमा राष्ट्रपतिको लागि मतदान सुरु

काठमाडौँ। इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ। स्थानीय समयअनुसार बिहान ८:०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो।

गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको छ।

मिडिया रिपोर्टका अनुसार शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ।

यस मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन्। राष्ट्रपतिका लागि सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान, सभामुख मोहम्मद बघेर गालिबाफ, पूर्व आणविक वार्ताकार सइद जलिली र सुरक्षा अधिकारी रहेका मोस्ताफा पोउरमोहमदी चुनावी मैदानमा रहेका छन्।

६ उम्मेदवार रहेपनि चुनावको अन्तिम समयमा तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमी उम्मेदवारी फिर्ता लिएका थिए।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ। सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन।