श्रममन्त्री डोरप्रसादकाे जलाइयो पुत्ला

श्रममन्त्री डोरप्रसादकाे जलाइयो पुत्ला

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आईटी आर्मीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालकाे पुत्ला जलाएकाे छ।

शुक्रबार आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा काठमाडौँस्थित वैदेशिक रोजगार विभाग पुगेका नेता-कार्यकर्ताहरुले वैदेशिक रोजगारका पीडितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुत्ला जलाएका हुन्।

वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ।

आन्दोलनसंगै उनीहरू वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन्। तर आन्दोलनको सरकारमाथि कुनै असर परेको नदेखिएकाे उनीहरूले बताएका छन्।

विदेश जाने युवाहरुसँग बिना रसीद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाललाई कारवाही गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनकारीमाथि दमन गर्ने कार्य सह्य नहुने उनीहरूले बताए।

वैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री भिसा-फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेलगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आईटी आर्मीका अध्यक्ष साहले बताउँदै आएका छन्।