नेपालले पहल गरे आकर्षक श्रमगन्तव्य बन्नसक्छ पोर्चुगल

नेपालले पहल गरे आकर्षक श्रमगन्तव्य बन्नसक्छ पोर्चुगल

लिस्वन। नेपाली युवाका लागि पोर्चुगल आकर्षक श्रमगन्तव्य मुलुक बन्ने सम्भावना बढेको छ।

नेपालले पोर्चुगल सरकारसँग आवस्यक गृहकार्य गर्नसके नेपाली युवाहरूले यहाँ रोजगारीको अवसर पाउनेछन्।

यहाँको सरकारले पछिल्लो समय विभिन्न भिसामा आएका आप्रवासीलाई स्वीकार नगर्ने तर, श्रमिकको आवश्यकता परे सिधैं ल्याउन सकिने व्यवस्था गरेको छ। यसको फाइदा नेपाललगायत विभिन्न देशहरुले ल्याउन सक्छन्।

विभिन्न माध्यमबाट पोर्चुगलमा आएर अहिले लगभग ६० हजार नेपाली बसोबास गर्छन्। यसमध्ये पोर्चुगलकै भिसा लगाएर आउने नेपालीको संख्या निकै कम छ।

केही कृषि कम्पनीले केही नेपाली ल्याएपनि नेपालबाट सिधैैं श्रमिक ल्याउन झन्झट भएकाले यहीँ आएका श्रमिकलाई पोर्चुगलका कम्पनीले भर्ना गर्ने गर्थे।

निश्चित मापदण्ड बनाएर यहाँका कम्पनीहरूले नेपाललगायत स्रोतमुलुकबाट श्रमिक ल्याउन सक्छन्। त्यसका लागि स्रोतमुलुक र पोर्चुगल सरकारबीच श्रम सम्झौता हुनुपर्छ। भर्ना प्रक्रियाका लागि निश्चित मापदण्ड तोकिनुपर्छ।

पोर्चुगलले तत्काल नयाँ आप्रवासीलाई बन्देज गरेपनि कुनै समयमा कुनै तरिकाबाट स्वीकार नगरी सुख छैन।

यहाँका युवा आकर्षक रोजगारीका लागि कमाउनकै लागि बाहिर जाने गर्छन्। यहाँका कम्पनीहरु फस्टाउँदै पनि गइरहेका छन्।

रोजगारी सिर्जना पनि न्यूनमात्रामा भएपनि बढ्दै गइरहेको छ। त्यसकारण पनि पोर्चुगललाई आप्रवासी श्रमिक जरुरी छ।

नेपालले विगत केही वर्षदेखि यूरोप रोजगारीलाई प्राथमिकतामा राख्दै आएको छ। जर्मन, डेनमार्क, नर्वे, बेल्जियम, स्पेन, युके लगायत देशमा नेपालीको आकर्षण बढ्दै गएको छ।

अन्य देशको तुलनामा पोर्चुगलमा पारिश्रमिक कम भएपनि सहजै कागजात बन्ने भएकाले विभिन्न भिसामा विभिन्न देशमा आएका आप्रवासीको गन्तव्य र रोजाइ पोर्चुगल बन्ने गरेको थियो।

अब पोर्चुगल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक बन्न सक्ने देखिएकाले नेपाल सरकारले आफ्नो तर्फबाट गृहकार्य गर्दा फरक नपर्ने विज्ञहरु बताउँछन्।

श्रमिककाे भाषा र सीपमा लगानी गर्दै आवश्यक पूर्वाधारमा जोड दिन सके उल्लेख्य नेपाली आउनसक्ने सम्भावना बढी रहन्छ।

७५ प्रतिशत भन्दा बढी नेपाली मलेसिया र खाडी मुलुकमै जाने गरेका छन्। श्रमिकको भिसा लगाएर युरोप आउने निकै कम छन्।

सरकारले गन्तव्य मुलुकको आवश्यकता अनुसार दक्ष श्रमिक दिनसके पोर्चुगल लगायत युरोपका अन्य देशमा नेपाली ल्याउन सकिने जानकारहरु बताउँछन्।