सचिवालयमा पस्न नपाएपछि नेपाल हाउसमा शेष घलेको बैठक

सचिवालयमा पस्न नपाएपछि नेपाल हाउसमा शेष घलेको बैठक उच्चस्तरीय समितिको पहिलो बैठक बसाल्न ४ वर्षपछि वालुवाटारस्थित सचिवालय फर्किएका शेष घले। तर, त्यहाँ उनी पुग्दा सचिवालय बन्द थियो।

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन संघको वालुवाटारस्थित सचिवालयमा पुगेका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका समितिका संयोजक शेष घले यत्तिकै फर्किनु परेको छ।

बैठक बसाल्न त्यहाँ पुग्दा सचिवालयका कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतले कार्यालयमा ताल्चा मारेर हिँडेको घलेको गुनासो छ।

‘एनआरएनएलाई मिलाएर लैजाउँला भन्ने आशाका साथ बैठक बोलाइएको थियो। यो नसोचेको भयो’, घलेले भने।

यसअघि सर्वोच्च अदालतको चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै उच्चस्तरीय समितिका घलेले सचिवालयमा बैठक बोलाएका थिए।

चैत २१ गतेको फैसला अनुसार घलेले पहिलो बैठक बोलाएको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्नेछ।

तर, पछि साउनमा सर्वोच्च अदालतकै अर्को बेन्चले एघारौं महाधिवेशनमा निर्वाचित नेतृत्वलाई काम गर्न पाउने बाटो खोलिदिएको थियो। सोही फैसला बमोजिम एघारौं महाधिवेशनमा निर्वाचित डा. बद्री केसी नेतृत्वको समितिले वालुवाटार फर्किएर कामकारवाहीलाई निरन्तरता दिइरहेको छ।

केसीले सर्वोच्चको दोस्रो फैसला मान्नुको विकल्प नभएको बताउँदै आइरहेका छन्।

सर्वोच्च अदालतको दोस्रो फैसलाले एघारौं महाधिवेशनलाई वैधानिकता दिएकाले निर्वाचित कार्यसमितिले महाधिवेशन गराउन पाउनु पर्ने अध्यक्ष डा. केसीको भनाइ छ।

उच्चस्तरीय समितिको बैठक बसाल्न घले समूहको तर्फबाट विनोद कुँवर र जानकी गुरुङ दिउँसो २ बजे नै संघको सचिवालयमा पुगेका थिए। त्यसपछि घले र रवीना थापा पुगेका थिए। घले त्यहाँ झण्डै १० मिनेट मात्र बसेका थिए।

‘सचिवालय बन्द गरेर सिइओसहित सबै हिँडे,’ घले समूहको गुनासो छ।

सचिवालयका एक कर्मचारीले पूर्वनिर्धारित तालिका अनुसार स्टाफ तालिम भएकाले आज कार्यालय बन्द भएको बताए। ‘यस्तो तालिम अघिल्लो वर्ष गोदावरीमा भएको थियो। अहिले बुढानिलकण्ठमा राखिएको छ,’ उनले भने।

एनआरएनएमा विवाद बढेपछि सन् २०२१ मा घलेले आफ्नो सानो समूहलाई फुटाएर छुट्टै एनआरएनए निर्माण गरेका थिए। आफूले महाधिवेशन गराएको समूह नै आधिकारिक भएको दाबी गर्दै सर्वोच्च पुगेका घलेलाई एकता महाधिवेशन गराउन आदेश आएको थियो।

झण्डै ४ वर्षपछि बैठक बस्न पुरानै कार्यालय फर्किएका घले त्यहाँ छिर्न नपाएपछि आफूलाई अपमानित महशुस गरेको बताइन्छ।

‘यो भवन त सबैको एनआरएन हो नी! उहाँ (शेष घले)अध्यक्ष हुँदा नै बनाइएको थियो। आफैले बनाएको ठाउँमा आफै बस्न नपाउने, यो कस्तो तरिका हो ?,’ सचिवालयमा छिर्न नपाएर रिसाउँदै नेपाल हाउस पुगेको घले समूहको गुनासो छ।

घलेले नेपाल हाउस पुगेर बैठक सुरु गरेपछि त्यहाँ संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पनि सहभागी भएका छन्।

केसी टीम भने घलेले चुनाव गराउन सक्दैनन् भन्ने निचोडमा पुगेको छ। चुनाव गराउन असफल भएपछि  उच्चस्तरीय समितिलाई ८२ औं आइसीसी बैठकले खारेज गरेकाले यसको औचित्य नभएको पनि दाबी केसी टीमको छ।

‘वर्तमान कार्यसमितिको १०२ औँ आईसीसी बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाको आधारमा १० औँ अधिवेशन सम्बन्धी उच्चस्तरीय समित ११ औं महाधिवेशन हुन नसकेको अवस्थामा परिकल्पना गरिएको हाे। हाल फरक परिवेश सिर्जना भइ सकेकाले यसको औचित्यता तथा सान्दर्भिकता समाप्त भइसकेको ठहर गरेको छ। यससँगै, वर्तमान कार्यसमितिको स्वायत्तता तथा सर्भौमतामा प्रतिकुल असर गर्ने प्रकारको क्रियाकलाप नगर्न सम्पूर्ण सम्बन्धित पक्षहरुलाई सचेत गराइएको छ,’ प्रवक्ता फणिन्द्र पन्तले भने।

यो पनि पढ्नुहोस्

घले वालुवाटार फर्किने भएपछि संस्थापन पक्षको प्रतिक्रिया– पूर्व अध्यक्ष आउँदा खुशी नै हुन्छौँ



No ads found for this position