युक्रेनको ट्राफिक अस्तव्यस्त, अन्य देशतर्फ जान नेपालीलाई कठिनाइ

युक्रेनको ट्राफिक अस्तव्यस्त, अन्य देशतर्फ जान नेपालीलाई कठिनाइ

काठमाडौं। रुसी सेनाले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाएपछि त्यहाँ रहेका नेपालीहरु ज्यान जोगाउन भागेर छिमेकी देशतर्फ जाने प्रयास गरिरहेका छन्। बिहीबार बिहानदेखि रुसले आक्रमण तीव्र पारेपछि त्यहाँ रहेका नेपाली सुरक्षित हुन छिमेकी देशतर्फ लागेका हुन्।

अहिले छिमेकी देश पोल्याण्ड, स्लोभाकिया र हंगेरीले मानवीयताका हिसावले युक्रेनी नागरिक तथा त्यहाँ रहेका आप्रवासीको लागि सीमा खुल्ला गरिदिएका छन्। सीमा खुलेसँगै विहिवारदेखि नै नेपालीहरु युक्रेन छोडेर अन्य देशतर्फ जान थालेको जर्मनस्थित नेपाली दूतावासका राजदूत रामकाजी खड्काले प्रवास खवरलाई जानकारी दिए। युक्रेन मामिला पनि जर्मनस्थित दूतावासले हेर्दै आएको छ।

‘हामीले त्यहाँ रहनु भएका नेपालीलाई पोल्याण्ड, स्लोभाकिया र हंगेरीको सीमा खुलेको छ,त्यत्ता तिर जानुहोस्। अल्लि सुरक्षित हुुन्छ भनिरहेका छौँ,’ खड्काले प्रवास खबरसित टेलिफोनमा भने।

बिहीबार दिउँसोदेखि नै नेपालीहरुले युक्रेन छोड्न थालेको उनले बताए। ‘हिजोदेखि नै केही साथिहरु राजधानी केभ, उडिसा, खारकिभ,केरचासी,बेलासरकुवा र माइयोपोलबाट सीमातर्फ जाँदै हुनुहुन्छ,’ उनले भने, ‘तर, ट्राफिक जामका कारण कठिनाइ भएको भन्ने कुरा आइरहेको छ।’

अहिले युक्रेनको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । नियमित रुपमा बस तथा ट्रेनहरु चल्न सकेका छैनन्। ‘बस तथा ट्रेन पाउनै गाह्रो छ । पाए पनि ल्याण्ड बोर्डर अति जाम छ। तीन/चार घण्टा बढी जाम भयो भनेर हामीलाई सुनाइरहनु भएको छ,’ खड्काले त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी गराए।

राजदूत खड्काका अनुसार करिव २ सय नेपाली युक्रेनमा थिए। तीमध्ये १७० जना दूतावासको निरन्तर सम्पर्कमा रहेको उनले बताए। उनीहरुमध्ये कतिपयलाई आर्थिक अभावका कारण त्यहाँबाट अन्यत्र देशतर्फ जान समस्या परेको छ।

‘कतिपयलाई खर्च नभएर त्यहाँबाट निस्कन गाह्रो भएको अवस्था छ। टाफ्रिक जाम भएकोले ट्याक्सीबाट जान खोज्दा १ हजार १५ सय डलर माग्ने गरेको भन्ने कुरा आइरहेको छ। केहीलाई त खान, बस्न नै समस्या भएको भन्ने गुनासो पनि आइरहेको छ,’ राजदूत खड्काले भने। एनआरएनए तथा अन्य नेपाली संघसंस्थासँग समन्वय गरेर समस्या समाधान गर्नेतर्फ पहल गरिरहेको उनको भनाइ छ।



No ads found for this position