एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध File Photo

काठमाडौँ। एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज १५ हजार फिटमा झर्दा तीन सय फिट नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन जना एटीसीलाई कारबाही गरिएको हो।

एउटै उचाइमा दुईवटा जहाजलाई एकै पटक उडान अनुमति दिइएको विषयमा अनुसन्धान गर्न विमानस्थल टावरमा कार्यरत तीन जना एटीसीलाई समेत कारबाही गरिएको छ।

एयर इन्डियाको जहाज १५ हजार फिटमा आइसकेको जानकारी एकैचोटि एटीसीले राडरमार्फत पाएका थिए। दुईवटा जहाजको दूरी एकदम नजिक भएपछि निगमको जहाज चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल एयरलाइन्सको जहाज सात हजार फिटमा झरेको थियो। उक्त समय दुईवटै जहाजमा गरी ३५० यात्रु सवार थिए।

तर, एयर इन्डियाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।



No ads found for this position