१ दशकभित्र जापानमा थपिए डेढ लाख नेपाली, विदेशी विद्यार्थीमा नेपाली दोस्रो

टोकियो। जापानकाे अध्यागमन विभागले हालै यहाँ रहेका विदेशीहरुको तथ्यांक प्रकाशित गरेको छ।
जसअनुसार गत ३१ डिसेम्बरसम्म जापानमा नेपालीको संख्या १ लाख ७६ हजार ३ सय ३६ पुगेको छ।
सन् २०१३ मा जापानमा बसोबास गर्ने नेपालीको संख्या ३१,५३७ मात्र थियो। हाल यो संख्या बढेर १७६,३३६ पुगेको हो।
यसले आफ्नो अध्ययन वा रोजगारीको लागि कर्मथलोको रुपमा जापान रोज्ने नेपालीहरु बढ्नुको साथै दुई देशबीचको सम्बन्ध समधुर रहेको र अझ गहिरो हुँदै गएको देखाउँछ।
हालै प्रकाशित तथ्यांकले जापानमा बस्ने नेपालीहरुलाई भिसाको आधारमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी रहेको र त्यसपछी क्रमशः डिपेन्डेन्ट परीवार, इन्जिनियर तथा अन्तराष्ट्रिय सेवा, कुकलगायतका विशेष दक्षताका व्यक्तिहरू, स्थाइ वसोबास गर्नेहरु, निर्दिष्ट सीपका कामदारहरु, प्रशिक्षार्थी कामदारहरु, जापानी नागकरिकका परिवारहरु रहेको देखिन्छ।
विधार्थीको हकमा सन् २००० मा करिब ३१२ जना रहेकोमा हाल यो संख्या ५५ हजार ६ सय ४ पुगेको छ।
गत वर्षसम्म जापानमा अध्ययन गर्ने कुल विदेशीहरुमा चीन, भियतनामपछि नेपालीहरु तेस्रो स्थानमा थिए भने यो वर्ष भियतनामलाई तेस्रो पार्दै नेपाली विद्यार्थीहरुको संख्या दोस्रो भएको छ।
जापानमा बसोबास गर्ने नेपालीहरुको सख्यामा वृद्धि हुनुमा विविध कारणहरु हुन सक्छन।नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि वा उज्वल भविष्यको खोजीमा विदेश जाने चलन भइसकेको छ।
आर्थिक हिसावले मध्यम वर्गिय परिवारबाट पनि हप्तामा २८ घण्टा काम गर्दै भाषा तथा व्यवसायिक शिक्षा लिन सकिने कारण जापान धेरै नेपाली विद्यार्थीहरुको लागी लोकप्रिय गन्तव्य बनेको छ।
जापानी विश्वविद्यालयहरूले शैक्षिक अवसरहरूको साथसाथै उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्न वातावरण तयार पारेको छ।
साथै विश्व विद्यालय भित्र वा बाहिर पनि विविन्न किसिमका अवसरहरु सम्भावना भएकोले उच्च-गुणस्तर शैक्षिक प्रणाली भएको देशको रुपमा पनि जापान परिचित छ र नेपाली लगायत विदेशी विद्यार्थीहरुको लागी आकर्षक गन्तव्य बनेको पाइन्छ।
जापानमा आरुबाइतो भनिने पार्ट टाइम जब गर्ने आर्थिक अवसर र अध्यन पश्चात रोजगारीका विकल्पहरू बढ्नुका साथै हाल नेपालीबाट विद्यार्थीमा नभइ सिधै रोजगारीमा जापान आएर काम गर्न सक्ने दुइदेशबीच सम्झौता भएकाले कामदारहरूलाई पनि जापानतर्फ आकर्षित गरिरहेका छन्, जो उत्पादन, सेवा र कृषिलगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।
नेपालीहरुको संख्या बढ्दै गएको बेला उनीहरुको गुणस्तरमा पनि ध्यान दिन जरुरी छ।
त्यसो त जापानमा प्राय होटलको फ्रन्ट, कन्बिनियन्स स्टोर, ओनसेन र्योकान (तातोपानी भएको स्नान गृह) , जेष्ठ नागरिक स्याहार लगाएतका सेवामुलक काममा लागेका नेपालीहरु हँसिलो, आत्मिय, भाषा वा संस्कृति छिटो सिक्ने गरेको जापानीहरु बताउँछन्।
उनीहरु नेपालीहरुको व्यवहार हेरेर खुसी भएको र अन्य शाखा वा उपशाकामा नेपालीनै कर्मचारी थप्न लागेको जस्ता किस्सा हरु पनि सुनाउने गर्दछन्।
नेपालीहरूलाई आफ्नो नयाँ परिवेशमा सफल हुनका लागि जापानी भाषामा निपुणता पनि आवश्यक पर्दछ, जापानी तथा अन्य देशबाट आएका कर्मचारीहरु संग प्रभावकारी रूपमा सञ्चार वा संवाद गर्न, रोजगारीका अवसरहरूमा पहुँच गर्न र जापानी समाजमा पूर्णरूपमा सहभागी हुन भाषाले ठूलो भूमिका खेल्दछ।
जापानी भाषा सिक्नेले जापानी रीतिथिति र परम्पराहरूबारे बुझ्न र महसुस गर्न सघाउँछ। साथै सम्बन्धलाई अझ प्रगाड र गहिरो बनाउछँ।
भाषाकै कारण जापानी समुदायलाई नेपालबारे चिनाउने अवसर पनि मिल्छ।
यसरी सांस्कृतिक आदानप्रदानले नेपाली समुदायलाई जापानमा थप आरामदायी जीवनयापन गर्न मात्र नभई दुवै समूहबीचको आपसी सम्मान र सद्भावलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्नेछ।
नेपालमा नै विविधताबीचमा एकता अंगाल्दै साझा आधार खोज्न सक्षम हामी नेपालीहरुले जापानी समाजमा हुर्कदै गइरहेको विदेशीहरुसँगको सहअस्तित्व सहितको जीवनयापनमा अग्रणी भूमिका खेल्दै आएका छौँ। र, यो दुवै समुदायका लागि लाभदायक पनि छ।
जापानमा बढ्दो नेपाली जनसंख्याले अवसर र चुनौतीहरू दुवै ल्याएको छ। जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै गएका बेला उनीहरुको जीवनस्तर र जापानी समाजमा नकरात्मक प्रभाव पर्न नदिनेतर्फ पनि ध्यान दिनु आवश्यक छ।
भाषा सिकेर सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिएर नेपाली समुदायले जापानको बहुसांस्कृतिक परिदृश्यमा सक्रिय रूपमा योगदान पुर्याउदै आएको कुरालाई आउँदा दिनमा पनि निरन्तरता दिनुपर्दछ।
यदाकदा संचारमाध्यममा आउने नकरात्मक घट्नाहरुको न्यूनिकरणका लागि जापानमा कृयासिल संघ -संस्थाहरुले भूमिका खेल्नु आवश्यक देखिन्छ।
(थापा जापानको कानागावा प्रिफेक्चर गर्भनरका सल्लाहकार हुन्)
ताजा अपडेट
