परराष्ट्रबाट पत्र आइसकेको अवस्थामा एक पक्षीय ढंगले साधारणसभा गर्नु ठिक होइन : उपेन्द्र महतो

परराष्ट्रबाट पत्र आइसकेको अवस्थामा एक पक्षीय ढंगले साधारणसभा गर्नु ठिक होइन : उपेन्द्र महतो फाइल फोटो : एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनहरू मिल्नुको विकल्प नभएको बताएका छन्।

प्रवास खबरसँगको कुराकानीमा उनले एनआरएनएमा एकताको विकल्प नभएको बताएका हुन्।

यस्तो छ महतोसँग प्रवास खबरका लागि बिनेश खनालले गरेको संक्षिप्त कुराकानीको अशं :

तपाईँ त संस्थापक अध्यक्ष, संघभित्र अहिले देखिएका विवादलाई कसरी हेरिरहनुभएको छ त ?

होइन मैले त सधैं मिल्नुको विकल्प छैन भनेको छु नी। एनआरएनए त एउटा अभियान हो। विदेशमा बस्ने नेपालीको हित र उनीहरूलाई मातृभूमिको समृद्धिसँग जोड्न चलाइएको एउटा विशुद्ध अभियान हो। तितामिठा कुरा बिर्सिएर अघि बढ्नुको विकल्प छैन। यो अभियानलाई बचाउन पर्छ।

एनआरएनए विवादमा सर्वोच्च अदालतको आदेशलाई कसरी लिनुभएको छ ?
सम्मानित अदालत नै मिलेर अघि बढ्न आदेश दिएको छ। परराष्ट्र मन्त्रालयले पनि पत्र पठाइसकेको अवस्था छ। सोही बमोजिम एकता महाधिवेशन गर्नुपर्छ। सबैलाई मिलाएर अघि बढ्न पर्छ।

सर्वोच्च अदालतकै अर्को फैसलाले बद्री केसी समूहलाई काममा नरोक्न भनेको थियो। केसी समूहले २७ र २८ अक्टोबरमा साधारणसभा गर्दैछ। यो साधारणसभालाई कसरी लिनुभएको छ?

परराष्ट्रबाट पत्र नआएको भए त छुट्टै कुरा हुन्थ्यो। अब यसो गनुहोस् भनेर सम्बन्धित मन्त्रालयबाटै पत्र आइसकेपछि त मान्नुपर्छ। अब एकैपटक एकता महाधिवेशन गर्नुपर्छ। पटक–पटक साधारणसभा गर्नुपर्छ भन्ने मलाई लाग्दैन। एक पक्षीय ढंगबाट साधारणसभा गर्नु ठिक होइन।

‘एनआरएनए डे’ को कार्यक्रममा तपाईँ दुवै समूहको कार्यक्रममा जानुभयो। बिहान बद्री र बेलुका आरके समूहको कार्यक्रममा गएपछि केसी समूह चिढिएको हल्ला छ। के तपाईँ र केसीबीच चिसोपन बढेकै हो ?

यो संस्थाको माया मलाई जति धेरै त अरु कसैलाई होला र । मैले धेरै मिहिनेत गरेको छु यो संस्थालाई जन्माउन, हुर्काउन। मलाई धेरै चिन्ता छ। म कसै एकको होइन, सबै एनआरएनहरूको संस्थापक हुँ। म कुनै एउटा गुट वा समूहको पक्षमा उभिन मिल्दैन।

म नै एउटा ग्रुपसँग लागे भने त झन बर्बाद नै हुन्छ नी। त्यसैले म सबैलाई मिलाएर संस्थालाई एक ढिक्का बनाउने प्रयासमा छु। मैलै कसैलाई काखा–पाखा गर्नु हुँदैन। यो अभियान हो। यसमा सबैलाई समेट्न पर्छ।

‘एनआरएनए डे’मा म पशुपति र स्वयम्भूमा पूजा गर्न गएको थिएँ। बेलुका अर्को कार्यक्रममा पनि शुभकामना दिन पुगेको थिएँ। म त्यहाँ कुनै यो र त्यो समूह भनेर गएको होइन। सबै एनआरएन हुन्, मैले हुर्काएका सन्तान हुन्। मैले यसरी लिएको छु। म दुवै ठाउँमा उपस्थित हुनु जायज थियो।

शेष घले ज्यूले एकता महाधिवेशन गराउनसक्नुहुन्छ त ?

मलाई विश्वास छ, उहाँले गराउनसक्नुहुन्छ। गराउनुपर्छ।

उहाँले हात झिक्नु भयो भने, पालो त हजुरकोमा आउँछ नी !

होइन उहाँले गराउनुहुन्छ भन्ने मलाई विश्वास छ। यदी हात नै झिक्नु भयो भने त म तयार नै छु नी । म त उहाँले हात झिके पनि नझिके पनि मिलाउनु पर्छ भनेर लागेको मान्छे हुँ।



No ads found for this position