इतिहासकै सबैभन्दा लामो र महङ्गो युद्धको खर्च इजरायलले कसरी धानिरहेको छ?

काठमाडाैँ। गत महिना इजरायलका वित्त मन्त्री बेजालेल स्मोट्रिचले संसदमा भनेका थिए ‘इजरायलको इतिहासमा हामी सबैभन्दा लामो र सबैभन्दा महङ्गो युद्ध लडिरहेका छौं।’
गत महिनासम्म इजरायलले अहिलेको युद्धमा लगभग ६० अर्ब डलरभन्दा धेरै रकम खर्च गरिसकेको थियो। यसमा मानवीय र भौतिक क्षति भने जोडिएको छैन।
हालका दिनमा इजरायलले युद्ध झनै चर्काएको छ। गत वर्षदेखि हमाससँग लडिरहेको इजरायलले अहिले लेबनान तथा इरानमा पनि आक्रमण गरिरहेको छ। आफ्ना सैनिकहरूलाई उसले यी युद्धका लागि कडा तालिम र अत्याधुनिक हातहतियार दिएको छ। अझै उसले दक्षिणी लेबनानमा सैनिक संख्या बढाउने र इरानमाथिको आक्रमणलाई अझै सघन बनाउने घोषणा गरिरहेको छ। र, यसबाट उसको खर्च अझ कैयौ गुणा बढ्नसक्ने आँकलन छ।
२०२५ सम्ममा इजरायलले यी युद्धहरूमा लगभग १०० अर्ब डलर खर्च गर्नसक्ने अर्थशास्त्रीहरूको आँकलन छ। यो भनेको इजरायलको कूल ग्राहस्थ उत्पादनको लगभग छ गुणा बढी हो।
युद्धका लागि पैसा जुटाउनका लागि इजरायलको बैंक इजरायलले सरकारी बोन्ड्सको बिक्री बढाएको छ। जसबाट आएको रकम इजरायलले युद्धकै लागि खर्च गर्दै आएको छ। गत मार्चमा मात्रै एक चरणमा यस्तो रकम लगभग ८ अर्ब डलर भएको थियो। इजरायली अर्थतन्त्रको इतिहासमा यो एउटा रेकर्ड नै भएको थियो।
बैंक अफ इजरायलका पूर्व गर्भनर प्रोफेसर कार्निट फ्लगका अनुसार इजरायलले अब आफ्नो वार्षिक बजेट पनि घटाउने तयारी गरिरहेको छ। यस्तोमा उसले आम नागरिकका लागि कर र त्यसका शीर्षकहरू पनि बढाउनेछ। लगभग ९.९ बिलियन डलर उसले आफ्नो बजेटमा कटौती गर्नसक्छ। अहिले इजरायलले मात्रै सैन्य रणनीतिलाई प्राथमिकता दिइरहेको छ। यस्तोमा उसले युद्धका लागि खर्च जुटाउनेबाहेक विकास तथा दैनिक प्रशासनिक खर्चमा उसको खासै ध्यान छैन। आर्थिक रणनीतिमा पनि उसको प्राथमिकता सैन्यखर्चको व्यवस्थापनमै हुन्छ।
२०२३सम्म इजरायलको अर्थतन्त्र बलियो नै थियो। तर जब युद्ध सुरु भयो अनि त्यसमा तीव्र गिरावट आइरहेको छ। विश्व बैंकले गत वर्ष उसको कूल ग्राहस्थ उत्पादनमा शून्य दशमलव १ प्रतिशतले कमी आएको छ। २०२४मा भने अर्थतन्त्रको आकार केही बढ्ने प्रक्षेपण भएका छन्।
इजरायलमा यो वर्ष कैयौं उद्योगधन्दाहरू बन्द भएका छन् र भारीमात्रामा रोजगारीको कटौती भएको छ। यसले इजरायलको व्यापार पनि घट्दै गएको देखिन्छ। त्यसमाथि कैयौं नाकाबन्दी र प्रतिबन्धका कारण पनि यहाँको अर्थतन्त्र अझ खस्किएको छ।
युद्धपछि इजरायली फोर्सेसका करिब ३ लाख ६० हजार रिजर्भ सैनिकलाई पनि युद्धमा खटाइएको छ। यसबाट सुरक्षा खर्च अझ बढेको छ। युद्धपछि सरकारले कम्तीमा २ लाख २० हजारभन्दा धेरै प्यालेस्टाइनीहरूलाई देशमा प्रवेश रोकेको छ। उनीहरू दैनिक मजदूरीका लागि इजरेल आउने गरेका थिए। त्यसबाट इजरायलको निर्माण क्षेत्र धरासायी भइरहेको छ। निर्माण क्षेत्रमा लगभग ८० हजार प्यालेस्टाइन थिए। उनीहरूको ठाउँमा भारत, श्रीलङ्का तथा उज्बेकिस्तानबाट हजारौं मजदूरहरू इजरायल भित्र्याइएको छ।
ताजा अपडेट
