मेरै नेतृत्वमा महाधिवेशन हुन्छ : डा. बद्री केसी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संघको आगामी महाधिवेशन आफ्नै नेतृत्वमा हुने दाबी गरेका छन्।
केसीले सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्हरूले आफ्नो पूरा कार्यकाल पूरा गर्ने र २०२५ को अक्टोबरमा एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन्।
सर्वोच्चको दोस्रो फैसलाले एघारौँ महाधिवेशनलाई आफैंमा सार्वभौम र स्वायत्त घोषित गरेकाले दशौँ महाधिवेशनको विवादले एघारौँ महाधिवेशनलाई कुनै असर नगर्ने दाबी केसीको छ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलाले दशौँ महाधिवेशनको विवादले एघारौँ महाधिवेशनलाई कुनै असर नगर्ने स्पष्ट फैसला गरेको छ। अघिल्लो फैसला दशौँ महाधिवेशनको विवादसँग सम्बन्धित थियो,’ उनले प्रवास खबरसँग भने।
अदालतले नै एघारौं महाविशेन आफैंमा सार्वभौम र स्वायत्त घोषित गरेकाले दशौं महाधिवेशन गराउनका लागि बनाइएको उच्चस्तरीय समितिको अब कुनै औचित्य नरहेको दाबी केसीले गरेका छन्।
‘ढुक्क हुनुहोस्, आगामी महाधिवेशन निर्वाचित कार्यसमितिले नै गराउँछ,’ उनले भने।
केसीले उच्चस्तरीय समितिलाई आफूहरू मान्न बाध्य नभएको बताउँदै पूर्व अध्यक्ष शेष घलेले आयोजना गर्ने बैठकले कुनै फरक नपर्ने बताएका छन्।
‘जे–जस्ता बैठक बोलाए पनि त्यसको सम्बन्ध हामीसँग छैन। त्यो बैठकको साइनो एघारौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिसँग छैन,’ केसीको दाबी छ।
घलेले सर्वोच्च अदालतको दोस्रो फैसलालाई बेवास्ता गर्दै बैठक बोलाएको केसीले बताए।
‘दोस्रो फैसलाले एघारौं महाधिवेशनलाई स्वायत्त भनेर नै हामीले कामकारवाहीलाई निरन्तरता दिइरहेका छौँ। अब हामीलाई नै ‘बाइपास’ गरेर कसैले महाधिवेशन गराउन चाहान्छ भने अदालतबाटै आदेश लिएर आए हुन्छ,’ उनले भने।
संस्थापन पक्षबाट अलग भएर छुट्टै एनआरएनए बनाएका घले सोही आदेश कार्यान्वयन गर्न भन्दै गत मंगलबार झण्डै ४ वर्षपछि वालुवाटारस्थित सचिवालयमा फर्किएका थिए।
तर, त्यहाँ उनले उक्त समितिको बैठक बसाल्न नपाएपछि नजिकैको नेपाल हाउस पुगेर बैठक चलाएका थिए। घले गत २१ चैतको फैसला कार्यान्वयन गराउनपर्ने अडानमा छन्।
घलेले हालका सबै राष्ट्रिय समन्वय परिषद् भंग गरेर २०२५ को मार्चसम्म राष्ट्रिय अधिवेशन गराउने र २०२५ को मेमा नयाँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने दौडधुपमा छन्। तर, केसी भने घलेको उच्चस्तरीय समितिको औचित्य समाप्त भइसकाले आगामी महाधिवेशन आफ्नै नेतृत्वमा गराउने तयारीसहित गृहकार्य गरिरहेका छन्।
यो पनि पढ्नुहोस्
घले वालुवाटार फर्किने भएपछि संस्थापन पक्षको प्रतिक्रिया– पूर्व अध्यक्ष आउँदा खुशी नै हुन्छौँ
ताजा अपडेट
