पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका ५ नेपाली युवालाई सुनको भरिया बनाएर पठाउने तीन नेपालीको पहिचान खुलेको छ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट गत सोमबार फरक–फरक जहाजबाट नेपाल फर्किएका गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु विकलाई विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो।

उनीहरू भिजिट भिसामा एक महिनाअघि दुबई पुगेका थिए। तर, त्यहाँ काम नपाएपछि फर्किने क्रममा उनीहरूलाई १ किलो ३ सय ९१ ग्राम सुन बोकाएर पठाइएको थियो।

सुन स्पीकरको भित्र लुकाएर ल्याइएको थियो। पक्राउ परेका युवाहरूले आफूहरूलाई झुक्याएर स्पीकरभित्र सुन राखेर पठाएको आफन्तलाई बताएका छन्।

दुबईस्थित विश्वस्त सुत्रका अनुसार पक्राउ परेका ५ युवा नेपालीलाई दुबईमा बसेर सुन तस्करी गर्दै आएका कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डेले सुन बोकाएका हुन्।

पक्राउ पर्ने युवाहरूलाई सुन तस्करीमा नाम खुलेका यी तीनमध्ये एक जनाले भिजिट भिसामा यूएई  बोलाएको श्रोतले प्रवास खबरलाई जानकारी दियो।

‘अहिले माउन्ट एभरेस्ट ज्वेलरीको सामान भन्ने कुरा आएको छ,’ दुबईस्थित श्रोतले बतायो, ‘यी तीनै जना दुबईमा कामदारलाई सुन भरिया बनाउन माहिर मानिन्छन्।’

दुबईबाट पठाइएको सुन नेपाल पुगेपछि त्यसबाट हुने नाफा सुन तस्कर र दुबईकै सुन पसलेबीच आधा–आधा बाँडफाँड हुने गरेको छ।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो



No ads found for this position