नेपाली कामदारले एक वर्षअघि नै तयार पारे कतारमा विश्व कपको छैटौं रंगशाला

नेपाली कामदारले एक वर्षअघि नै तयार पारे कतारमा विश्व कपको छैटौं रंगशाला

दोहा। सन् २०२२ मा आयोजना हुने विश्व कप फुटबल प्रतियोगिताका लागि कतारले छैटौं रंगशालाको पनि निर्माण कार्य सम्पन्न गरेको छ।

बढी मात्रामा नेपाली कामदार खटिएको अल थुमामा रंगशालाको उद्घाटन शुक्रबार राति भएको हो।

उन्नचालिसौं ‘हिज हाइनेस दि अमिर कप’ अन्तर्गत शुक्रबार राती अल साद र अल रायन क्लबबीच भएको फाइनल खेलका लागि यो रंगशालाको उद्घाटन गरिएको हो। अल सादले पेनाल्टीमा अल रायनलाई पराजित गर्दै उपाधि जितेको थियो।

रंगशाला निर्माणका लागि कतारले गठन गरेको सर्वोच्च कमिटीका महासचिव हसन अल थावाडीले विश्व कपका लागि छैटौं रंगशाला तयार भएर उद्घाटन भएकोमा गर्व महसुस गरे।

उनले भने, ‘हामी निकै गौरवान्वीत भएका छौं, आगामी वर्ष आयोजना हुने विश्व कपभन्दा पहिले छैटौं रंगशाला पनि तयार भएको छ।’

अल थुमामा कतारमा सबैका लागि विशेष भेन्यू हो। अल थुमामा रंगशालाको डिजाइन युनिक मानिन्छ। यो रंगशालाको डिजाइनर कतारी आर्किटेक इब्राहिम अल जेदा हुन्। यही रंगशालामा फिफा अरब कपको पनि खेल हुने बताइएको छ।



No ads found for this position