महानिर्देशकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै म्यानपावर व्यवसायीले घेरे विभाग

महानिर्देशकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै म्यानपावर व्यवसायीले घेरे विभाग

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागमा घेराउ गरेको छ । विभागका महानिर्देशक कुमार दाहालकोे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघले आइतबार बुद्धनगरस्थित विभाग परिसरमा धर्नासहित विरोध प्रदर्शन गरेको हो ।

नीतिगत सुधारका लागि आफूहरुले पटक–पटक पहल गरेको तर विभागका महानिर्देशक दाहालले विभिन्न बहानामा आफुहरुलाई दुःख दिने गरेको व्यावसायीले गूनासो गरेका छन् ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको बताउँदै यस्तो अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यावसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले उल्टो दुःख दिने गरेको बताए । विभागका महानिर्देशक दाहालले गत एक वर्षसम्म पनि कुनै नीतिगत सुधार गर्न नसकेको बताउँदै गैरेले भने,‘असक्षमले पद छोडेर ठाउँ खाली गरिदिनु पर्छ ।’

‘कुमार दाहाल महानिर्देशकमा आउनुभएको एक वर्षभन्दा बढी भयो । वैदेशिक रोजगारलाई थप व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गर्नुपर्छ भन्दै हजार पटक विन्ती पत्र पठायौँ । कैयौँ पटक भेटेर छलफल ग¥यौँ,’ संघका प्रथम उपाध्यक्ष कमल तामाङले विरोध सभालाई सम्बोधन गर्दै भने, ‘तर, डिजी सावले मिठा–मिठा गफ चुट्दै हामीलाई चिया खुवाउने बाहेक अरु केही गर्नु भएन । नीतिगत सुधारको त कुरै छाडौँ उहाँले एउटा माखो समेत मार्नु भएन ।’ महानिर्देशकले आफू निकटका केही मिडिया प्रयोग गरेर व्यावसायीहरुको चरित्रहत्या गरेर आफू चर्चामा आउन खोजेकोतामाङले आरोप समेत लगाए ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले आफूहरुले राखेका माग सम्बोधन नगरेर महानिर्देशक दाहालले कर्मचारीलाई निर्देशन गरेर विभिन्न बहानामा काममा अवरोध गर्ने गरेको आरोप लगाए ।महानिर्देशक दाहालले एकलौटी र स्वेच्छाचारी ढंगले निर्णय गरि व्यावसायीलाई अनावश्यक जरिवाना गराउने,सूचना नदिई बिनाआधार धरौटी कट्टा गर्ने,कम्पनीको कारोवार रोक्का गर्ने, अनुगमन गर्न जाँदा आफू अनुकुलका मिडियालाई लगेर अनुगमन भन्दा बढी प्रचारवाजी गरेको आरोप संघका महासचिव क्षेष्ठको थियो ।

‘व्यवसायी विरुद्ध अपमानजनक अभिव्यक्ति दिने,विभागको नेतृत्वले भनेको विषयमा खण्डन गर्दा जेल हाल्छु र इजाजात खारेज गर्छु भन्ने जस्ता अनैतिक क्रियाकलाप गरेकोले हामीहरु आन्दोलित हुनुपरेको हो,’ महासचिव श्रेष्ठ असन्तुष्टि पोख्दै थिए ।

आफूहरुका माग पुरा नभए विभागमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलन गर्ने श्रेष्ठले चेतावनी समेत दिए । ‘माग सम्बोधन गर्न महानिर्देशकले चासो नदेखाए हामी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गछौँ,’ श्रेष्ठले भने,‘यो त सांकेतिक विरोधमात्रै हो,माग पूरा भएन भने हामी हजार्रौँ व्यावसायी व्यवसाय बन्द गरेर सडकमा उत्रन बाध्य हुन छौँ ।’

विरोध कार्यक्रमपछि महानिर्देशक दाहाललाई विभिन्न २१ बुँदै माग राखेर संघले ज्ञापनपत्र समेत बुझाएको छ ।

महानिर्देशक दाहालले भने व्यवासायीहरुले आफूप्रति लगाएको आरोप निराधार भएको बताए । उनले कामदारको हितको लागि आफूले काम गरिरहेको र व्यवासायीहरुलाई जथाभावी गर्न रोक लगाएपछि असन्तुष्टि आएको दावी गरे । ‘मैले रोजगारमा जाने श्रमिकको हितलाई बढी ध्यान दिदाँ उहाँहरु(व्यवासायी)लाई चित्त नबुझेको हुनसक्छ,’ महानिर्देशक दाहालले भने,‘मैले मनपरी गर्न पाउनुपर्छ भनेर कसैले आन्दोलन गर्छ भने अर्कै कुरा हो । विधिसम्मत ढङ्गले काम गरिरहेको व्यवासायीलाई कुनै समस्या छैन ।’



No ads found for this position